२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

विरोधपछि सरकार पछि हट्यो, इम्बोस्ड नम्बर प्लेट नेपालीमा


March 27, 2023
0
Shares

काठमाडौं, १३ चैत्र । सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अंग्रेजी ल्याटिन लिपिमा राख्ने निर्णयबाट सरकार पछि हटेको छ । चौतर्फी विरोधपछि सरकारले देवनागरी लिपिमा नम्बर प्लेट राख्ने निर्णय गरेको हो । उपप्रधानमन्त्ती एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यसका लागि कार्ययोजना बढाएको जानकारी दिए ।

सोमवार मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले इम्बोस्ड नम्बर प्लेट देवनागरी लिपिमा राख्ने निर्देशन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट आएपछि कार्ययोजना बढाइएको बताए । उनले देवनागरी लिपिमा इम्बोस्ड नम्बर प्ल्ेट राख्नेबारे सम्बन्धित कम्पनीसँग पनि छलफल प्रक्रियामा रहेको जानकारी दिए ।

नेपालमा इम्बोस्ड नम्बर प्लेट अंग्रेजी ल्याटिन लिपिमा राखिएपछि विरोध हुँदै आएको छ । उपभोक्ताले इम्बोस्ड नम्बर प्लेट राख्न मानेका छैनन् ।

इम्बोस्ड नम्बर प्लेट अंग्रेजी ल्याटिन लिपिमा राखिएपछि सर्वोच्च अदालतमा मुद्दा दायर भएपनि प्रयोगका लागि मार्ग प्रशस्त गर्ने फैसला आएको थियो । तर, देवनागरी लिपिलाई विस्थापित गर्न खोजिएको भन्दै विरोध बढेपछि सरकार अगाडि बढ्न सकेन ।

सवारी नम्बर प्लेटमा देवनागरी लिपि नै प्रयोगमा छ । यो लिपि नै विस्थापित गर्न विदेशी कम्पनीलाई इम्बोस्ड नम्बर प्लेटको ठेक्का दिएको भन्दै नेपाली भाषाविज्ञहरुले समेत निर्णय परिवर्तन गर्न भनेका थिए । यसका लागि थप रकम लाग्ने भनिएपनि सरकारले प्रक्रिया बढाउन लागेको छ ।

प्रतिक्रिया