८ कार्तिक २०८१, बिहिबार | October 25, 2024

सर्वेन्द्र खनालले भनेः एनसेल प्रकरणका माफियाको जालो तोडी जेल हाल्नुपर्छ


December 9, 2023
1.1k
Shares

काठमाडौं, २३ मंसिर । पूर्वआइजीपी सर्वेन्द्र खनालले देशमा माफिया राज चलेको प्रष्ट भएको टिप्पणी गरेका छन् । सत्ता चलाउनेहरुले माफियासँग साँठगाँठ गरी देशघाती एनसेल प्रकरण गराएकोले देश गम्भीर अवस्थामा पुग्ने खतरा बढाएको बताएका हुन् ।

‘एनसेल प्रकरणले माफिया राज चलाउन खोजेको देखियो,’ खनालले नेपाली पेनसँग भने, ‘माफियालाई खोजी खोजी जेल हाल्नुपर्छ ।’ अर्थतन्त्र ध्वस्त पार्नेलाई कुनै हालतमा छुट दिइनुहुन्न ।

देशमा जिम्मेवार अनुसन्धान निकायलाई कमजोर बनाएर माफियाहरुले आफ्नो अनुसारका गतिविधि बढाएको बताए । सत्ता चलाउनेहरुले एनसेलको विक्रीबारे कुनै जानकारी छैन भन्नु देशकै बेइज्जती गर्नु सरह भएको तर्क गरे । उनले भने, ‘यस्तो पूर्वयोजनाबारे कुनै जानकारी थिएन भनेर दुनियाँलाई ढाँट्ने र आफ्नो देशको इन्टेलिजेन्स नै फेलियर भयो भन्ने सन्देश दिने ?’

देशमा एकपछि अर्को राष्ट्रघात भइरहेकोमा सचेत हुनुपर्नेमा जोड दिए । नेपाली जनताको पसिनाको कमाईबाट तिरिएको करवापत्को रकम विदेश पलायन गराउने षड्यन्त्रहरु विगत देखि नै भएकोमा माफियाहरुले सफल बनाउन खोजेको बताए ।

खनालले सरकारप्रति जनतामा विश्वास गुमेको समेत बताए । माफियाले देश चलाउन खोजेकाले अहिलेको खतरनाक परिस्थिति विकास भएको बताए ।

एनसेल प्रकरणमा दोषी को को छ भन्ने सत्यतथ्यसहित बाहिर आउन जरुरी रहेको बताए । देश लुट्न कसैलाई पनि छुट नभएकाले यस्ता अपराधीहरुलाई उम्कन दिन नहुने बताए ।

प्रतिक्रिया