३ आश्विन २०८१, बिहिबार | September 19, 2024

अरबौं घोटालाको टेरामक्स प्रकरणमा विदेशबाटै घूसको सेटिङ, अख्तियारबाट बच्न चोलेन्द्रसँग मिलेमतो


November 3, 2023
83
Shares

काठमाडौं, १७ कात्तिक । देशलाई अरबौं नोक्शान पुर्याउने दूरसञ्चार सम्बन्धी एउटा प्रकरणले ठूला माछा अख्तियारको फन्दामा पर्ने निश्चित जस्तै भएको छ । यो प्रकरणमा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, तत्कालीन सञ्चार सचिव तथा हालका मुख्यसचिव बैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका हालका अध्यक्ष पुरुषोत्तम खनाल र पूर्व अध्यक्ष दिगम्बर झा समेत तानिने भएका छन् । उनीहरुमध्ये कतिपयसँग अख्तियारले बयान लिइसकेको छ ।

टेरामक्स भनिने प्रणालीको खरिदमा योजनावद्ध तरिकाले लेबनानको कम्पनी भेन्राइजलाई ठेक्का दिलाउने योजना बुनिएको समेत अख्तियारले अनुसन्धानबाट पत्ता लगाएको छ । प्रतिष्पर्धी अन्य कम्पनीलाई विभिन्न रणनीति अपनाएर ठेक्काबाट वञ्चित गरिएको थियो यो प्रकरणमा । जसरी हुन्छ लेबनानी कम्पनीलाई नै ठेक्का दिलाउने गरी आर्थिक प्रस्तावमा भन्दा प्राविधिक प्रस्तावमा योग्य देखाएर छानिएको खुलेको छ । टेरामक्स टेलिफोन कल नियमन तथा शंकास्पद कलको व्यवस्थापन प्रणाली हो । यसलाई नेपालमा अनिवार्य भन्दै ठेक्का खोलेर ठूलै अनियमितता भएको खुलेको हो ।

२० असोज २०७४ मा ठेक्का खोलेकोमा २०७८ को मंसिरमा ठेक्का सम्झौता गराइएको थियो । मोहनबहादुर बस्नेत सञ्चारमन्त्री र महेन्द्रमान गुरुङ सचिव हुँदा टेरामक्स प्रणाली सञ्चालनको निर्देशन भएको थियो । त्यतिबेलै देखि योजना बनाएर लेबनानी कम्पनीलाई नै ल्याउन संगठित गिरोह नै सक्रिय भयो । उक्त कम्पनीलाई नै ठेक्का दिलाउन कहिले मापदण्ड बदल्ने त कहिले शर्त बदल्ने गतिविधि भयो । जसरी हुन्छ प्रतिष्पर्धी अन्य कम्पनीलाई अयोग्य बनाउने गतिविधि भए । १६ वटा कम्पनीले प्रतिष्पर्धा गरेकोमा चार कम्पनीलाई मात्र अन्तिम प्रतिष्पर्धामा पु¥याइएको थियो । रोचक त यो छ कि कम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई छनोट नगरी बढी प्रस्ताव गर्नेलाई प्राविधिक पाटोमा बढी अंक दिएर छनोट गरिएको छ । यो सार्वजनिक खरिदसम्बन्धी कानूनको विपरित हुन आउँछ । सार्वजनिक खरिदसम्बन्धी कानूनमा सबैभन्दा कम रकम प्रस्ताव गर्ने कम्पनी नै प्राथमिकतामा पर्ने व्यवस्था गरिएको छ । तर, अंक दिंदा आर्थिक र प्राविधिक पाटो भन्दै चलखेल गरियो ।

भेन्राइजले २ करोड ३७ लाख ७० हजार डलर, स्विटजरल्यान्डको एसजीएसले २ करोड ४२ लाख ३० हजार, हङकङको एन्सफ्टले २ करोड २० लाख ९ हजार र क्यानडाको टीकेसीले १ करोड १५ लाख डलर आर्थिक प्रस्ताव गरेकोमा आर्थिक प्रस्तावमा दोस्रो बढी रकम प्रस्ताव गर्ने कम्पनीले बाजी मार्न पुग्यो । यसले राज्यलाई अरबौंको नोक्शान पुगेको छ ।

रोचक त यो छ कि ठेक्का मिलाउन अदालतलाई समेत दुरुपयोग गरिएको थियो । देशमा टेन्डर पार्न अदालतमा मुद्या लाने र फैसला गराउने प्रवृत्ति बढेको छ । टेरामक्समा पनि लेबनानी कम्पनी भेन्नाइजलाई योजनावद्ध तरिकाले अदालतसम्म मुद्या हाल्न सुझाइयो । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले यसमा पनि भूमिका खेले । उनी र कुमार चुँडालको इजलाशले टेन्डर रद्ध गर्नुलाई गैरकानूनी ठहर गरी नेपाल दूरसञ्चार प्रकरणको निर्णय बदरको आदेश दियो । यसमा पनि प्राधिकरणका अधिकारीको भित्री मिलेमतो थियो । चोलेन्द्रले नै इम्बोस्ड नम्बर प्लेटको विवादास्पद कार्यमा फैसला गरी काम बढाउन लगाएका थिए । टेरामक्समा पनि उनले त्यस्तै गरे ।

अदालतको आदेश भन्दै तत्कालीन मन्त्री ज्ञानेन्द्र काकी देखि सञ्चार सचिव बैकुण्ठ अर्याल बजेट निकासामा बढे । चोलेन्द्रले सहज बनाइदिएका थिए उनीहरुलाई । भविष्यमा कानूनी कारबाहीबाट बच्न अदालतको दुरुपयोग गरिएको थियो । अदालत कस्लाई ठेक्का दिने र कस्लाई नदिने फैसलाहरु गर्न थाल्यो । टेरामक्समा पनि योजनावद्ध तरिकाले एउटा गिरोहले यसरी नै भूमिका खेल्यो । कात्तिक ३० २०७८ मा टेरामक्स प्रणालीको ठेक्का सम्झौता भयो । यसका पछाडि संगठित गिरोह नै सक्रिय भएको खुल्न थालेको छ ।

यो ठेक्का प्रणालीमा घूसको लेनदेन विदेशमा नै भएको बुझिएको छ । दुबईमा घूस लेनदेन गरी टेरामक्सको ठेक्कामा कुरा मिलाइएको थियो । यही प्रकरणमा भूमिका खेलेकाले बैकुण्ठ अर्यालको मुख्यसचिव बन्ने ढोका खुलेको बुझिएको छ । उनलाई मुख्यसचिव बनाउन दूरसञ्चार क्षेत्रको ठूलै गिरोह सक्रिय भयो ।

रोचक त यो छ कि टेरामेक्स प्रणालीको ठेक्का पाएको लेबनानी कम्पनी भेनराइजको सम्बन्ध आतंकवादी संगठन हिजबुल्लाहासँग रहेको खुलासा भएको छ । हिजबुल्लाहा त्यस्तो संगठन हो जसले गत शनिबार इजरायलमा आतंकवादी हमला गर्दा १० नेपाली विद्यार्थी मारिएका छन् ।

भेनराइजले इराकको दूरसञ्चार कम्पनीमा हजबुल्लाह कै आडमा प्रवेश पाएको र यो सम्बन्धी पहिलो अनुभव बटुलेको खुलेको छ । लेवनानी कम्पनी भेनराइजले कंगो र जिम्बावेमा यस्तै टेरामक्स प्रविधिको ठेक्का हात पारेको छ । नेपालभन्दा ३ गुणा ठूलो र झन्डै १० करोड जनसंख्या भएको कंगोमा १।२ मिलियन अमेरिकी डलरमा टेरामक्स प्रविधि ठेक्का लिएको भेनराइजले ३ करोड जनसंख्या भएको नेपालमा भने २३ मिलयन बढी डलरमा ठेक्का हत्याएको देखिन्छ ।

प्रतिक्रिया