चिनियाँ राजदूत सोङलाई तत्काल चीन फर्काउन जनमत पार्टीको माग
काठमाडौं, २१ भाद्र । सीके राउत नेतृत्वको जनमत पार्टीले चिनियाँ राजदूत छेन सोङलाई तत्काल चीन फर्काउन माग गरेको छ । बिहिवार प्रतिनिधि सभामा बोल्दै जनमत पार्टीका सांसद अब्दुल खानले सोङले कूटनीतिक मर्यादा विपरितको अभिव्यक्ति दिएको भन्दै तत्काल फिर्ता पठाउन माग गरेका हुन् ।
राजदूत सोङले गत शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल र भारतबीचको सम्बन्धका बारेमा अभिव्यक्ति दिएका थिए । उनले भारतसँग नेपालको विद्युत व्यापारमा घाटा रहेको देखि भारतसँगको सम्बन्धका नकारात्मक विषयबारे आक्रामक अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिले सोङ विवादमा परेका छन् ।
जनमतका सांसद खानले संसदमा भने, ‘यदि नेपाल स्वतन्त्र राष्ट्र हो भने उक्त राजदूतलाई परराष्ट्र मन्त्रालयले स्पष्टिकरण लिनुपर्छ र तत्काल नेपालबाट फिर्ता पठाउनुपर्छ ।’ सोङले नेपाल र भारतको सम्बन्ध बिगार्न खोजेको समेत बताए ।