३ आश्विन २०८१, बिहिबार | September 19, 2024

सुन तस्करीमा संलग्न चिनियाँ नागरिक जेक्यूयाङको कनेक्शन


0
Shares

काठमाडौं, ११ साउन । राजधानीको सोह्रखुट्टेमा ब्रेक शु को गोदाम बरामद भयो । त्यो गोदाम सुन तस्करीका लागि प्रयोग भएको पाइएको छ । उक्त गोदाम सञ्चालन गर्थे चिनियाँ नागरिक जेक्यूयाङ लिन ।

लिन चीन भाग्न लाग्दा अध्यागमन विभागमा गत हप्ता पक्राउ परेका थिए । बुधवार एक सय केजी सुन बरामद भएपछि उनी भाग्न खोजेका थिए ।

प्रहरीले अनुसन्धानका क्रममा सोह्रखुट्टेको गोदाममा छापा मार्दा ११ सय ६२ थान ब्रेक शु बरामद भएको छ । भाडामा लिएर सञ्चालनमा रहेको गोदाममा ब्रेक शु भेटिएपनि सुन भेटिएको छैन । सुन पगाल्ने उपकरण र तौलने तराजु भने फेला परेको छ ।

चिनियाँ नागरिक लिनको सुन तस्करीको कनेक्शनबारे पनि प्रहरीले अनुसन्धान बढाइरहेको छ । उनको विभिन्न सम्पर्क सूत्रमार्फत् भन्सार, प्रहरी देखि राजनीतिक नेतासम्म पहुँच रहेकोबारे अनुसन्धान बढेको हो ।

यसअघि भीपबाट सुन तस्करी गर्ने गिरोहको पहुँच पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महरासम्म रहेको खुलेको थियो । यसबारे अनुसन्धान गनृ माग भइरहेको छ ।

सुन तस्करी हङकङ र दुबईबाट बढी भएको खुलेको छ । त्यसमा चिनियाँ नागरिकहरु सक्रिय रहँदै आएका छन् ।

नेपालमा पछिल्लो समय चिनियाँ नागरिकहरु संगठित अपराधमा सक्रिय रहेको फेला परिरहेको छ । उनीहरु सुन तस्करी, लागूऔषध ओसारपसार, गैरकानूनी नेटवर्क बिजनेश, विदेशी मुद्राको अपचलनलगायत गम्भीर अपराधमा संलग्न पाइएका छन् ।

प्रतिक्रिया