३ आश्विन २०८१, बिहिबार | September 20, 2024

प्रचण्ड सरकार ढाल्न देउवा फकाउँदै ओली


0
Shares

काठमाडौं, ८ असार । प्रचण्ड नेतृत्वको सरकार ढाल्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हात धोएर लागेका छन् । सिंगापुर गएका काँग्रेस सभापति शेरबहादुर देउवासँग दूतहरुमार्फत् ओलीले छलफललाई तिव्रता दिइरहेका छन् ।

ओलीको चलखेलको सुइँको पाएर सरकारमा सहभागी नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सरकार ढाल्ने गतिविधि भइरहेको खुलासा गरे । आज शुक्रवार पूर्वप्रधानमन्त्री नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सरकार ढाल्न सक्रिय भएको टिप्पणी गरेका छन् । ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर सरकार ढाल्न खोजेको आरोप लगाए ।

देउवा स्वास्थ्योपचारका लागि सिंगापुर छन् । उनले सरकारको विकल्प खोज्न सिंगापुरमा बसेर भेटघाटहरु गरिरहेको चर्चा चलिरहेको छ ।

संसदमा नेकपा एसका सचेतक महेश बर्तौलाले शुक्रवार नै सञ्चारकर्मीको प्रश्नमा सरकार केही दिनमै ढल्ने दाबी गरे । उनले प्रचण्ड नेतृत्वको सरकारको विकल्प खोज्नुपर्ने बेला भइसकेको बताए ।

प्रचण्ड सरकार नेपाली काँग्रेसको समर्थनमा बनेको हो । नेपालको संसदमा पहिलो दल काँग्रेस र दोस्रो दल एमाले मिलेमा संसदमा स्पष्ट बहुमत हुन्छ र उनीहरुको सरकार बन्छ । माओवादीसहित समाजवादी मोर्चा संसदमा तेस्रो शक्ति हो ।

संसदमा २७५ सांसदको व्यवस्था छ । काँग्रेसको ८८, नेकपा एमालेको ७८, समाजवादी मोर्चाका घटक दलहरुको ५४, रास्वपाको २०, राप्रपाको १३ र बाँकी साना दल र स्वतन्त्र सांसदहरु छन् । निलम्बित सांसद पनि छन् संसदमा ।

प्रतिक्रिया