२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

आत्महत्याको प्रमुख कारण नैराश्य र गरिबी मात्रै हो त !


0
Shares

काभ्रेपलाञ्चोक, जेठ १९ गते । केही महिनाअघि काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिकाकी १४ वर्षीय बालिकाले विद्यालय पोसाक सिलाएबापतको पैसा तिर्न नसक्दा घरमा झुन्डिएर आत्महत्या गर्नुभयो।

पोसाक सिलाएबापतको ज्याला तिर्न आमाले दिएको पैसाबाट डेढ सय रुपियाँ खाजामा खर्च गरेर बाँकी रहेको पैसा दिँदा पसलेले पोसाक दिन नमानेपछि नपुग पैसा दिन घरपरिवारले नमानेपछि उहाँले आत्महत्याको बाटो रोज्नुभएको थियो। यस्तै काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिकाका एक व्यक्तिले घरपरिवारलाई थाहै नदिई गाउँमा रहेको सहकारी संस्थाबाट ऋण लिएको एक लाख रुपियाँ मादक पदार्थ सेवनमै खर्च गरेपछि ऋण तिर्न नसकेपछि आत्महत्या गर्नुभएको थियो।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको तथ्याङ्कले पछिल्ला वर्षमा जिल्लामा आत्महत्याको दर घटेको देखाएको छ। आर्थिक वर्ष २०७७र७८ देखि गत वैशाख मसान्तसम्मको तथ्याङ्क हेर्दा नैराश्य, दीर्घरोग, गरिबी, घरेलु हिंसा, प्रेममा असफलता र मानसिक असन्तुलनका कारण आत्महत्या गर्ने गरेको देखाएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले फरक फरक कारणले आत्महत्या गर्ने गरेको पाइएको बताउनुभयो। उहाँले आव २०७७र७८ मा नैराश्यका कारण ४० जना, गरिबीका कारण २९ जना, दीर्घरोगका कारण २४ जना, प्रेममा असफलताका कारण १७ जना, मानसिक असन्तुलनका कारण १५ जना र घरेलु हिंसाका कारण ११ जनाले आत्महत्या गरेको बताउनुभयो।

यस्तै आव २०७८र७९ मा गरिबीका कारण २९ जना, मानसिक असन्तुलनका कारण २४ जना, नैराश्यका कारण १९ जना, प्रेममा असफलताका कारण १६ जना, घरेलु हिंसाका कारण १४ जना र दीर्घरोगका कारण ११ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ।

साथै वैशाख मसान्तसम्म जिल्लामा नैराश्यका कारण २१ जना, घरेलु हिंसाका कारण १३ जना, गरिबीका कारण ११ जना, प्रेममा असफलताका कारण ११ जना, मानसिक असन्तुलनका कारण नौ जना र दीर्घरोगका कारण छ जनाले आत्महत्या गरेका छन्। तीन वर्षको तथ्याङ्क अनुसार मध्याह्न १२ बजेदेखि साँझ ६ बजेको समयमा धेरैले आत्महत्या गरेका छन्। जिल्लामा आत्महत्या गर्नेमा सबैभन्दा बढी ३६ देखि ४५ वर्ष उमेर समूहका नागरिक छन्। प्रहरीको तीन वर्षको तथ्याङ्कले जिल्लामा आत्महत्या गर्नेमध्ये सबैभन्दा बढी झुन्डिएर आत्महत्या गर्ने बढी रहेको देखाएको छ।

आत्महत्या रोकथामका प्रयास

स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मङ्गलबार जिल्लास्थित १३ वटा स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा अन्य सरोकारवालासँग आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि छलफल गर्न आयोजित कार्यव्रmममा मानसिक अस्पताल पाटनका निर्देशक डा अनन्त अधिकारीले आत्महत्या गर्नुको कारण करिब ८५ प्रतिशत मानसिक विचलन रहेको बताउनुभयो। उहाँले नेपालमा करिब १० देखि २० प्रतिशत उपचार गर्नुपर्ने खालका मानसिक रोगी रहेको बताउँदै आत्महत्या न्यूनीकरण गर्न मानसिक स्वास्थ्यको क्षेत्रमा धेरै काम गर्नुपर्ने बताउनुभयो।

कार्यव्रmममा वरिष्ठ स्वास्थ्य प्रशासक डा पुरुषोत्तमराज सेढाईंले नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण, २०७७ अनुसार देशभर करिब ११ लाख नागरिकमा मानसिक स्वास्थ्य समस्या रहेको बताउनुभयो। उहाँले नेपाल विश्वमा आत्महत्या गर्ने आठौँ स्थानमा पर्ने भन्दै मानसिक समस्याका कारण हुने क्षति न्यूनीकरण गर्न मेथिनकोट प्रादेशिक अस्पतालमा मानसिक रोग विशेषज्ञद्वारा उपचार सेवा सुरु गरेको बताउनुभयो। गोरखापत्रबाट

प्रतिक्रिया