१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

आईजीपी फेरिएसँगै गगनमाथि प्रहरी निगरानी ! पक्राउको चर्चाले कांग्रेसमा हलचल


November 5, 2026
415
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि प्रहरीले निगरानी बढाएको उनको सचिवालयले दाबी गरेको छ। नेपाल प्रहरीको नेतृत्व परिवर्तनसँगै प्रधानमन्त्री बालेन्द्र शाहका पछिल्ला कदमको आलोचना गर्दै आएका थापामाथि प्रहरी निगरानी तीव्र पारिएको कांग्रेस नेताहरूको भनाइ छ।

सचिवालयका सदस्यहरूका अनुसार न्यौपाने थरका एक डीएसपीको नेतृत्वमा रहेको प्रहरी टोलीले विगत चार–पाँच दिनदेखि थापाको गतिविधिमाथि निगरानी गरिरहेको छ। प्रहरीले थापाको निवास, सम्पर्क कार्यालय, पार्टी कार्यालय तथा उनी भेटघाट गर्ने विभिन्न स्थानमा निगरानी राखिरहेको उनीहरूको दाबी छ।

यतिसम्म कि, सुरक्षा स्रोतलाई उद्धृत गर्दै कांग्रेस नेताहरूले प्रधानमन्त्रीको टिमभित्र थापालाई पक्राउ गर्ने विषयमा समेत छलफल भइरहेको सूचना आफूहरूले पाएको बताएका छन्।

इनम सापकोटाको बयानका आधारमा सोधपुछ गर्ने बहानामा थापालाई हिरासतमा राख्ने तयारी भइरहेको हुन सक्ने आशंका कांग्रेस नेताहरूको छ। इनमको सार्वजनिक अडियोमा सभापति थापाले पार्टीको वैधानिकता प्राप्त गर्न १८ करोड रुपैयाँ खर्च गरेको प्रसंग उल्लेख भएपछि यो विषय थप विवादमा तानिएको छ।

सम्भावित पक्राउको आशंकाबीच सभापति थापाले बुधबार पार्टीका शीर्ष नेताहरूसँग छलफल गरेका छन्। उनले बिहीबारका लागि पार्टी पदाधिकारी बैठकसमेत बोलाएका छन्। पछिल्लो राजनीतिक घटनाक्रम र नेतृत्वमाथि हुन सक्ने सम्भावित कारबाहीबारे कांग्रेसभित्र रणनीतिक छलफल भइरहेको बुझिएको छ।

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी र नेतृत्वविरुद्ध भइरहेका गतिविधिको कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने बताएका छन्।

त्यस्तै, पार्टीले आधिकारिकतासम्बन्धी विवादमा निष्पक्ष छानबिनको माग गर्दै उपसभापति पुष्पा भुसाल र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेलाई जिम्मेवारी दिएको छ।

प्रहरी निगरानी र सम्भावित पक्राउको चर्चाले पछिल्लो समय सरकार र प्रमुख प्रतिपक्षी दलबीचको राजनीतिक सम्बन्ध थप तनावपूर्ण बन्ने संकेत देखिएको छ। यद्यपि, थापालाई पक्राउ गर्ने तयारीबारे सरकार वा प्रहरीबाट आधिकारिक पुष्टि भएको छैन।

प्रतिक्रिया