१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

तनहुँ कांग्रेसमा अझै विशेष कि नियमित महाधिवेशनको निरर्थक बहस किन ?


October 30, 2026
8.5k
Shares

सन्देश रानाभाट लौडारी । तनहुँ कांग्रेसमा विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहस अझै समाप्त भएको देखिँदैन । के जिल्ला नेतृत्व चयनमा पनि विशेष महाधिवेशनको पक्ष र विपक्षका नाममा नयाँ ध्रुवीकरण गर्न खोजिएको हो ?

तनहुँ कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, पुष्प पराजुली, जगत तिमिल्सिना र जिल्ला सदस्य डम्बर अधिकारीबाहेक अधिकांश नेताहरूले विशेष महाधिवेशनपश्चात् क्रियाशील सदस्यता अद्यावधिक गरेको देखिन्छ। यसले तनहुँ कांग्रेसमा नियमित महाधिवेशनको पक्षमा खुलेर उभिनेहरूको सङ्ख्या तुलनात्मक रूपमा कम रहेको सङ्केत गर्छ।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाएसँगै माथि उल्लेखित केही नेताबाहेक अधिकांशले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई स्वीकार गर्दै वडा अधिवेशनदेखि क्षेत्रीय अधिवेशन हुँदै केन्द्रीय महाधिवेशनसम्म सहभागिता जनाएको देखिन्छ। अर्थात्, पार्टीको नेतृत्व र महाधिवेशन प्रक्रियालाई स्वीकार गरेर अघि बढिसकेपछि अब पनि विशेष र नियमितको नाममा राजनीतिक कित्ताकाट गरिरहनुको औचित्यमाथि प्रश्न उठ्नु स्वाभाविक हो।

केन्द्रीय महाधिवेशन सम्पन्न भएसँगै अब तनहुँ जिल्ला अधिवेशनको मिति नजिकिँदै छ। तर, जिल्लाका केही नेताहरू विशेष महाधिवेशनको स्पिरिटअनुसार छुट्टै टिम निर्माण गरेर जिल्ला नेतृत्व आफ्नो हातमा पार्नुपर्छ भन्दै हिँड्न थालेको देखिन्छ।

पार्टी सभापति गगन थापाले केन्द्रीय महाधिवेशन उद्घाटनका क्रममा नै अब विशेष र नियमित भन्ने मानसिकता त्यागेर सबै साथीहरू एकताबद्ध हुनुपर्ने सन्देश दिनुभएको थियो। पार्टी नेतृत्वबाटै एकताको सन्देश आइसकेको अवस्थामा पनि विशेष र नियमितको बहसलाई निरन्तरता दिन खोज्नुले तनहुँ कांग्रेसको एकता प्रक्रियालाई नै प्रभावित पार्न सक्ने चिन्ता आम कांग्रेसी कार्यकर्तामा देखिन्छ।

यही परिस्थितिबाट असन्तुष्ट भएर जिल्लाका लक्ष्मी आचार्य, काजिमान श्रेष्ठ र तरानारेश पौडेलजस्ता राजनीतिक व्यक्तित्वहरू अहिले नियमित महाधिवेशनको धारतर्फ लागेको चर्चा पनि भइरहेको छ। यसले जिल्लामा नेतृत्व चयनको बहस केवल व्यक्ति र पदमा सीमित नरही महाधिवेशनको स्वीकार्यता र पार्टी एकताको प्रश्नसँग समेत जोडिएको देखाउँछ।

अझ चिन्ताजनक पक्ष के छ भने, जिल्लामा आशा गरिएका युवा नेताहरूबाटै विशेष महाधिवेशनको छुट्टै टिम बनाउनुपर्ने अभिव्यक्ति आउन थालेको छ। परिवर्तन र नयाँ राजनीतिक संस्कारको अपेक्षा गरिएका युवाहरू नै पुरानै विभाजनको निरन्तरतामा लागे भने कांग्रेसको भावी संगठनात्मक दिशामाथि प्रश्न उठ्नु स्वाभाविक हुनेछ।

यस्तो विभाजन र ध्रुवीकरणको अवस्थालाई देखेर तनहुँ कांग्रेस सभापतिका प्रत्याशी वसन्तबहादुर आलेले पनि पार्टीभित्र एकता र साझा नेतृत्वको आवश्यकता औँल्याउनुभएको छ। उहाँका अनुसार स्थानीय तह र प्रदेशसभाका निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले संगठनलाई थप एकताबद्ध बनाउने, कार्यकर्ताबीच विश्वास पुनःस्थापित गर्ने र सबैलाई समेट्न सक्ने साझा नेतृत्व निर्माण गर्ने दिशामा ध्यान दिनुपर्ने बेला हो। जिल्ला अधिवेशनलाई नै विशेष र नियमितको नाममा अर्को शक्ति सङ्घर्षको मैदान बनाइयो भने त्यसको असर पार्टीको संगठनात्मक एकतामा मात्र सीमित रहने छैन, निकट भविष्यमा हुन गइरहेका स्थानीय तह र प्रदेशसभाका निर्वाचनमा समेत यसको गम्भीर असर पर्न सक्छ भन्ने उहाँको भनाइ छ।

जिल्लामा हरेक पटक गुट सिर्जना गरेर आफ्नो राजनीतिक अभीष्ट पूरा गर्ने प्रवृत्तिबाट अब आशा गरिएका युवा नेताहरू मुक्त हुन जरुरी छ। युवाहरूले पुरानै गुटगत राजनीतिको निरन्तरता होइन, नयाँ सोच, नयाँ संस्कार र एकताको सन्देश दिन सक्नुपर्छ। नेतृत्व परिवर्तनको कुरा गर्ने तर व्यवहारमा पुरानै विभाजनलाई निरन्तरता दिने प्रवृत्तिले कांग्रेसको रूपान्तरण सम्भव हुँदैन ।

‘सुध्रिएको कांग्रेस, अब सुध्रिन्छ देश’ भन्ने नारा बोकेर अघि बढेको कांग्रेसभित्रै तनहुँमा भने अझै विशेष र नियमितको निरर्थक बहस चलिरहनु आफैँमा विडम्बनापूर्ण छ। अब आम कार्यकर्ताले यस्ता राजनीतिक गतिविधि र त्यसपछाडिका स्वार्थलाई राम्ररी बुझ्न आवश्यक छ।

आसन्न जिल्ला अधिवेशनमा व्यक्ति, गुट र महाधिवेशनको कित्ताकाटभन्दा माथि उठेर पार्टी एकता, विधि, विचार र सक्षम नेतृत्वलाई प्राथमिकता दिनुपर्छ। गुटगत राजनीतिको निरन्तरता चाहने प्रवृत्तिलाई निरुत्साहित गर्दै साझा नेतृत्व र एकताको पक्षमा उभिनु नै आजको आवश्यकता हो भन्ने आम कांग्रेस कार्यकर्ताको धारणा देखिन्छ।

प्रतिक्रिया