१४ आश्विन २०८३, बुधबार | September 30, 2026

दुई ठूला समूहलाई पछि पार्दै तनहुँ–१ को सभापतिमा आनन्दराज त्रिपाठी विजयी


September 30, 2026
498
Shares

तनहुँ, १४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा आनन्दराज त्रिपाठी विजयी भएका छन्।

दुई ठूला समूहबाट मैदानमा उत्रिएका उम्मेदवारलाई पछि पार्दै त्रिपाठीले क्षेत्रीय सभापतिको बाजी मारेका हुन्। त्रिपाठीले ३८६ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी विश्वेश्वर खनालले ३६३ र अर्का उम्मेदवार सूर्यचन्द्र हड्खलेले २५६ मत प्राप्त गरे।

त्रिपाठीले खनाललाई २३ मतको अन्तरले पराजित गरेका हुन्। क्षेत्र नम्बर १ मा कुल १ हजार ६८ मत खसेको थियो।

खनाल कांग्रेस केन्द्रीय सदस्य चिनु पोखरेलसहितको समूहबाट उम्मेदवार बनेका थिए भने हड्खले पूर्व जिल्ला सभापति बैकुण्ठ न्यौपानेको समूहबाट प्रतिस्पर्धामा थिए। दुई प्रभावशाली समूहका उम्मेदवारबीचको प्रतिस्पर्धाका बीच त्रिपाठीको जितलाई क्षेत्रीय राजनीतिमा चासोका साथ हेरिएको छ।

भानु नगरपालिकाका मेयरसमेत रहेका त्रिपाठीले यसअघि पनि पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए। क्षेत्रीय सभापतिमा उनको विजयले स्थापित समूहबाहिरबाट आएको उम्मेदवारीले पनि कांग्रेसको आन्तरिक निर्वाचनमा प्रभाव पार्न सक्ने सन्देश दिएको समर्थकहरूको भनाइ छ।

त्रिपाठीको विजयपछि उनका समर्थक तथा युवा कार्यकर्ताले यसलाई नयाँ पुस्ताको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्। उनीहरूले कांग्रेसमा पुरानै समूह र नेतृत्वको प्रभाव मात्र निर्णायक नहुने भन्दै युवाको भूमिका बढ्दै गएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया