१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

तनहुँ–१ प्रदेश ‘ख’ बाट निशा कपाली निर्विरोध निर्वाचित


September 29, 2026
913
Shares

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र ‘ख’ बाट निशा कपाली प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी छन्।

दलिततर्फबाट उम्मेदवारी दिएकी कपाली युवा पुस्ताको प्रतिनिधित्व गर्दै प्रदेश प्रतिनिधिमा निर्विरोध निर्वाचित भएकी हुन्।

नेपाल महिला संघ बन्दीपुरको सचिव भएर काम गरिसकेकी कपाली बन्दीपुर गाउँपालिकामा सदस्यमा मनोनीत भएरसमेत जिम्मेवारी निर्वाह गरिसकेकी छन्।

आफ्नो पार्टीप्रतिको माया, मेहनत र लगावलाई मूल्यांकन गर्दै आफूलाई निर्विरोध चयन गरिएको कपालीले बताइन्। उनले भनिन्, “मेरो पार्टीप्रतिको माया, मेहनत र लगाव देखेर यो पदमा निर्विरोध गरियो।”

कपालीले आफ्ना बुवा रामसिंह विकको कांग्रेसप्रतिको लगाव र योगदानबाट प्रेरित भएर आफू पनि पार्टी राजनीतिमा लागेको बताइन्। बुवाले देखाएको बाटो पछ्याउँदै कांग्रेसमा सक्रिय भएकी उनले अब पार्टीप्रतिको आफ्नो यात्रा नरोकिने बताएकी छन्।

उनले दलित समुदायको हकहित र अधिकारका लागि निरन्तर आवाज उठाइरहने प्रतिबद्धतासमेत व्यक्त गरिन्।

कपालीको निर्विरोध चयनलाई कांग्रेसमा युवा पुस्ताको सहभागिता र दलित समुदायको प्रतिनिधित्वका रूपमा हेरिएको छ।

प्रतिक्रिया