१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

तनहुँ कांग्रेसमा पुस्तान्तरणको बहसः द्वन्द्वपीडित कोटामा ६ मध्ये एक मात्रै युवा उम्मेदवार


September 28, 2026
1.3k
Shares

तनहुँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा द्वन्द्वपीडित कोटाबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका ६ जनामध्ये एक जना मात्रै युवा छन्। बाँकी पाँच जना पाका उमेरका नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै रोजन बानियाँ उम्मेदवार बनेका छन्। उनीसँगै पुष्पा देवी श्रेष्ठ (आँबुखैरेनी), ओझराज पौडेल (व्यास–८), विर्खराज श्रेष्ठ (व्यास), सतीश न्यौपाने (व्यास–७) र समुन्द्र गोदार (व्यास) ले उम्मेदवारी दिएका छन्। उम्मेदवार ओझराज पौडेल राष्ट्रपति रामचन्द्र पौडेलका आफ्नै भाइ हुन्।

महाधिवेशन प्रतिनिधिका लागि भएको यो प्रतिस्पर्धाले तनहुँ कांग्रेसमा पुस्तान्तरणको बहसलाई फेरि सतहमा ल्याएको छ। एकातिर नयाँ पुस्तालाई पार्टीमा जोड्ने रणनीति, अर्कोतिर पुरानै पुस्ताका नेताहरूको निरन्तर उम्मेदवारी। यही परिस्थितिमा युवा उम्मेदवार बानियाँले आफूलाई नयाँ पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गरेका छन्।

१८ वर्ष कटेका युवालाई जोड्ने रणनीति, उम्मेदवारीमा पुरानै पुस्ताको दबदबा

विशेष महाधिवेशनपछि १८ वर्ष उमेर पूरा गरेका युवालाई कांग्रेससँग जोड्ने र नयाँ पुस्तामैत्री पार्टी निर्माण गर्ने रणनीति अघि सारिएको छ । तर तनहुँ क्षेत्र नम्बर १ को द्वन्द्वपीडित कोटामा परेको उम्मेदवारीले पार्टीको यो अभियान र व्यवहारबीचको अन्तरबारे प्रश्न उठाएको छ।

पार्टीले युवालाई राजनीतिक गतिविधि र संगठनमा जोड्ने नीति अघि सारे पनि उम्मेदवारीमा भने पुरानै पुस्ताका नेताहरूको उपस्थिति बलियो देखिएको छ। यसले कांग्रेसभित्र पुस्तान्तरणको बहसलाई थप पेचिलो बनाएको छ।

संगठनमा पुस्तान्तरण हुनु भनेको नेतृत्व परिवर्तन मात्रै होइन, सोच, कार्यशैली र राजनीतिक प्राथमिकतामा पनि परिवर्तन आउनु हो। नयाँ पुस्तालाई अवसर नदिई पुरानै नेताहरू पदमा दोहोरिरहने प्रवृत्तिले युवा नेतृत्वको विकासमा चुनौती थप्न सक्ने देखिन्छ।

पुरानो विरासतसँग नयाँ पुस्ताको ऊर्जा जोड्ने बानियाँको दाबी

लामो समयदेखि तनहुँमा कांग्रेसको राजनीतिमा सक्रिय रहे पनि पदका लागि दौडधुप नगरेका विद्यार्थी नेता रोजन बानियाँ यसपटक महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका छन्।

उनले आफूलाई युवा पुस्ताको प्रतिनिधिका रूपमा प्रस्तुत गर्दै जित सुनिश्चित रहेको दाबी गरेका छन्। पार्टीको पुरानो विरासतलाई सम्मान गर्दै त्यसलाई नयाँ पुस्ताको ऊर्जा, क्षमता र सोचसँग जोड्नुपर्ने उनको धारणा छ।

द्वन्द्वपीडित कोटामा एक्ला युवा उम्मेदवार बनेका बानियाँका लागि यो प्रतिस्पर्धा महाधिवेशन प्रतिनिधि बन्ने दौड मात्रै होइन, कांग्रेसभित्र नयाँ पुस्ताको प्रतिनिधित्व स्थापित गर्ने अवसरका रूपमा पनि हेरिएको छ।

तनहुँ क्षेत्र नम्बर १ मा द्वन्द्वपीडित कोटाबाट उम्मेदवारी दिएका ६ जनामध्ये मतदाताले कसलाई रोज्छन् भन्ने विषयले पार्टीभित्र पुस्तान्तरणको बहसलाई कस्तो दिशा दिन्छ भन्ने चासो बढाएको छ।

प्रतिक्रिया