‘सरकारले सक्दैन भने श्रीमान् खोज्न आफैं जान्छु’
सविना केसीका श्रीमान् सोहित विक बेपत्ता भएको आज ८ दिन बित्यो । श्रीमान्सँगै देवर अमर विक र मामा नारायण विकको अत्तोपत्तो छैन ।
एकै परिवारका तीन जना सम्पर्कविहीन छन् । सविनालाई अझै झिनो आशा छ, ‘कतै आफ्ना मान्छे जीवित छन् कि ।’
‘मेरो बुढा र मामा जंगलतिर भागेका थिए’
मूल घर सुर्खेत भएको विक परिवार कामको सिलसिलामा स्याफ्रुबेसी पुगेको थियो । सविनाका श्रीमान् परिवारसहित इमाडोल डेरामा बस्थे । चीनबाट सामान ढुवानीको काममा सोहित ड्राइभिङ गर्थे । उनी घरबाट निस्किएको चार–पाँच दिन मात्र भएको थियो ।
भोटेकोशीमा बाढी आउनुभन्दा एक दिन अगाडि उनीहरू स्याप्रुबेसीमै थिए । १० भदौमा बिहान ६ बजे सोहितका मामा–भान्जा सँगै हिँडे । रोङ्गा पुग्नै नपाउँदै ठूलो भेला आयो ।
त्यहाँ रहेका अन्य तीन जना आत्तिएर भाग्न थाले । तीन जनामध्ये एक जना भाग्दाभाग्दै बाँचेर स्याफ्रुमाथि पुगेका रहेछन् । ती व्यक्तिले सविनासँग भनेका थिए, ‘तिम्रो बुढा र मामा जंगलतिर भागेका थिए । बाढी आउँदाआउँदै भागेको मैले देखेको थिएँ ।’
उनले दिएको सूचना नै अहिले सविनाको आशाको सबैभन्दा ठूलो आधार हो ।
उनको मनमा बारम्बार एउटै कुरा घुमिरहन्छ, ‘मेरा मान्छेहरू जंगलमा कतै भोकै, तिर्खै तड्पिरहेका त छैनन् रु
उनका देवर अमर टिमुरेबाट गाडी लिएर आउँदै थिए । तातोपानी डाँडातिरबाट आउँदा एक जना दाइसँग उनको अन्तिम फोन सम्पर्क भएको थियो । उनले भनेका थिए, ‘चौकी पुगेको छु ।’ त्यसपछि अमर सम्पर्कविहीन भए ।
‘हामीलाई जान दिँदैनन्’
जंगलतर्फ भागेको सुनेकी सविनालाई आफ्ना श्रीमान् र मामा भेटिने झिनो आशा छ । सुरुङमा खोजी र टिमुरेसम्म हेलिकप्टर गए पनि जंगलभित्र कोही नगएको उनको गुनासो छ । खोजी अभियानकर्ता सुरुङ र टिमुरेसम्म हेलिकप्टरमा पुगेको उनले सुनेकी छिन् । तर उनलाई लाग्छ, त्यो जंगलमा सरकार पुगेको छैन ।
‘मेरा श्रीमान् सोहित र नारायण भागेको भनिएको जंगलतिर खोजी भएको छैन । न ड्रोन पुगेको छ, न हेलिकप्टर । न त परिवारले आफैं गएर खोज्न पाएको छ । खोजतलास त गर्नुपर्यो नि,’ उनी भन्छिन् ।
पीडितका मामाहरूले आर्मीसँग कुरा गरेर हेलिकप्टर लैजाने प्रयास गरेका थिए । तर अहिलेसम्म केही भएको छैन ।
हेलिकप्टरमा उनको परिवारको एक जना लैजाने भनिएको थियो, त्यो पनि भएको छैन । थकित स्वरमा उनी थप्छिन्, ‘मरे पनि, बाँचे पनि म आफैँ जान्छु भन्दा जान पाइँदैन रे ।’
सविना पटकपटक दोहोर्याउँछिन्, ‘खोजतलास त गर्नुपर्यो नि । जिउँदो रहेको मान्छे पनि सरकारको लापरबाहीले मर्छ के ।’
सविना सरकारसँग रिसाएकी छिन् । टुटेकी छिन् । यत्रो दिनसम्म पनि माथिल्लो भेगमा सरकारले उद्धारमा तदारुकता नदेखाएकोमा उनको गुनासो छ ।
अस्पतालको भित्तामा तस्वीर छ, उद्धारको सूचीमा छैन
त्रिवि शिक्षण अस्पतालको भित्तामा टाँसिएका तस्वीरले सविनालाई झन् बेचैन बनाउँछन् । उनका दिदीहरूले आइतबार नै आएर तस्वीर टाँसिदिएका थिए ।
बेपत्ता भएको दुई दिनसम्म खबर नआएपछि तीन–चार महिनाका बच्चा छिमेकीलाई जिम्मा लगाएर उनी श्रीमान्को खोजीमा हिँड्न विवश छिन् ।
‘दिनभरि कोठामा रोएर मात्र के गर्ने ? बरु मेरो बुढो म आफैँ खोज्छु,’ उनले भनिन् । उनले प्रहरीको टोल फ्री नम्बर १०० मा पनि फोन गरेकी छिन् । आफ्नो टिकटकबाट बेपत्ता भएको जानकारी गराइरहेकी छिन् ।
सविना सम्बन्धित निकायमा बेपत्ता भएको निवेदन दिइसकेको बताउँछिन् । इमाडोल प्रहरी चौकीमा निवेदन दिएकी छिन् । आपतकालीन नम्बरमा पनि सम्पर्क गरेकी छिन् ।
तर, उनको अर्को गुनासो बेपत्ता व्यक्तिहरूको विवरण संकलन गर्ने प्रक्रियासँग सम्बन्धित छ । भन्छिन्, ‘जति ठाउँमा गए पनि फेरि नाम टिपिराख्छन् ।’ एक पटक नाम टिपिएपछि त्यो विवरण खोजीमा खटिएका सबै संयन्त्रसम्म पुग्नुपर्छ ।
‘एक पटक टिपिसकेपछि नाम सिस्टममा हुनुपर्यो नि,’ उनी थप्छिन्, ‘फेरि अर्को ठाउँमा गएर नाम टिपाइरहनुपर्ने अवस्था हुनु भएन ।’
बेपत्ता व्यक्तिको परिवारका लागि यो सामान्य प्रशासनिक प्रक्रिया होइन । हरेक पटक नाम सुनाउनु भनेको फेरि त्यही घटना सम्झिनु हो । हरेक पटक तस्वीर देखाउनु भनेको फेरि त्यही अनुहार सम्झिनु हो । हरेक पटक ‘अझै भेटिएको छैन’ भन्ने उत्तर सुन्नु भनेको आशामाथि अर्को चोट पर्नु हो । त्यसैले, सविना एउटा व्यवस्थित केन्द्रीय सूचीको माग गरिरहेकी छन् ।
श्रीमान्को खोजीमा एक्लै भौंतारिइरहेकी सविना एउटै कुरा बारम्बार दोहोर्याउँछिन्, ‘सरकार माथितिरका जंगल र खोंचभित्र पनि जानुपर्छ । जहाँ गाडी पुग्छ, जहाँ सुरुङ छ, त्यहाँ मात्र हेरेर भएन । सरकार त सबैतिर पुग्नुपर्यो नि ।’
उनी हात जोडेर आग्रह गर्छिन्, ‘यो कुरा सरकारसम्म पुगोस् । ड्रोन लगाएर भए पनि, हेलिकप्टर लगेर पनि सरकार पुग्नुपर्यो । सरकार जान सक्दैन भने आफन्तलाई जान देऊ । नभए, मेरो श्रीमान् खोज्न म आफैं जान्छु ।’
अनलाइन खबरबाट साभार गरिएको हो ।


