अमेरिकाले नेपालमा युवा आन्दोलनको माहोल तयार गर्न करोडौं डलर खन्याएको खुलासा

एजेन्सी, २२ असोज । अमेरिकाले नेपालमा युवा परिचालनका नाममा करोडौं डलर खन्याएको खुलासा भएको छ । युवा परिचालन कार्यक्रम अन्तर्गत राजनीतिक तालिम, आन्दोलन रणनीति र भूराजनीतिक प्रभावमा पैसा खर्चिएको सन्डे गार्डेनको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा भारत र चीनको प्रभावलाई काउन्टर दिन अमेरिकी धन खर्चिएको भनिएको छ । इन्टरनेशनल रिपब्लिकन इन्स्टिच्युट आइआरआईले मात्र राजनीतिक कार्यक्रम अन्तर्गत ३ लाख ५० हजार डलर पाएको उल्लेख छ । जुन रकम भारत र चीनको प्रभावविरुद्ध खर्चिएको छ ।
आइआरआईले सोलुशन कन्सल्टेन्ट प्रा.लिंसँग युवाको राजनीतिमा सहभागितासम्बन्धी कार्यक्रमका लागि सम्झौता गरेको रिपोर्टमा भनिएको छ । आइआइआइको तर्फबाट म्याथु कार्टरले सम्झौतामा हस्ताक्षर गरेको र उनले आफ्नो समूहसँग बँगलादेशको ढाकामा जमातका नेताहरुसँग दुई महिनाअघि भेटेको भनिएको छ । अमेरिकी धनराशी पाउने संस्थाको र्सम्बन्ध बँगालदेशको सत्ता पल्टाउने समूहसँग पनि भएको उल्लेख छ ।
आइआरआईले प्रगति विवरणमा उदीयमान नेताहरुको एकेडेमी, युवा सशक्तिकरण क्षमता अभिवृद्धिसम्बन्धी वर्कशप पनि सञ्चालन गरेको उल्लेख गरेको छ । तालिममा नेतृत्वविकासको बहस, नेतृत्व क्षमता, नेतृत्वको सहभागिता, प्रदर्शन रणनीति, आवाज बुलन्द गर्ने उद्देश्य राखिएर सञ्चालन भएको थियो । डिजिटल एड्भोकेसी, लो ब्यान्डविथ टुल्स, मेसेज पठाउने, रणनीति र क्षमता अभिवृद्धि गरी आन्दोलन र प्रदर्शन गर्ने, स्रोत परिचालन, संगठनको संरचना, सूचना प्रवाह र एड्भोकेसीको तौरतरिका पनि तालिममा समावेश थिए । समाग्री निर्माणमा मात्र ४ लाख रकम बजेट विनियोजन थियो ।
हरेक कार्यक्रमको निश्चित उद्देश्य राखेर युवा परिचालन र प्रदर्शनलगायत तालिमका लागि धनराशी दिइएको थियो ।
नेपालमा ह्यासट्याग राखी जेन जी प्रोटेस्ट, वेक अप नेपाल, सोसल मिडिया ब्यान जस्ता पेज खोलेर उग्र सामाग्री हाल्ने र हिंस्रक गतिविधिका लागि उत्तेजित पार्ने सामाग्री पोष्ट गरेको तथ्य भेटिएको समाचारमा उल्लेख छ । त्यस्ता पेजहरुमा ठूलो धनराशी खर्चिएर भाइरल बनाइएको थियो ।