इम्बोस्ड नम्बर नागरिकमाथि अनावश्यक सास्ती

काठमाडौं, ११ भदौ । सरकारले आगामी असोज १ गतेदेखि अनिवार्य रुपमा सवारी साधनमा लागु गर्न लागेको इम्बोस्ड नम्बरको नेपाल तरुण दलका केन्द्रीय सदस्य संजिव गुरुङ्गले खुलेर विरोध गरेका छन् ।
इम्बोस्ड नम्बर अनिवार्य रुपमा सवारी साधनमा लागु गर्न लगाएर सरकारले गैर जिम्मेवार ढंगले नागरिकमाथि अनावश्यक सास्ती दिन खोजेको उनको भनाइ छ ।
युवा नेता गुरुङ्गले बुधबार एक विज्ञप्ती जारी गर्दै आम नागरिकको विरोधका बीच पनि आवश्यक नभएका नीति र नियम लागु गर्न नहुने तर्क गरेका छन् । राज्यले विभिन्न प्रकृतिका नीति नियम जनतामाथि जबरजस्ती लाद्न खोज्दा सर्वसाधारणले बाध्यताले आन्दोलन गर्नुपर्ने र त्यसले शहर अस्तव्यस्त हुन पुगेको पनि उल्लेख गरेका छन् ।
इम्बोस्ड नम्बर एउटै सवारीमा सरकारलेबाट जबरजस्ती दुईवटा नम्बर उपलब्ध गराउन खोज्नु नै गलत भएको नेपाल तरुण दलका केन्द्रीय सदस्य संजिव गुरुङले टिप्पणी गरेका छन् ।
“आम नागरिकको विरोधका बीच पनि राज्यमा विभिन्न प्रकृतिका नीति नियम लागु भइरहनु अचम्मित विषय हो यसले आम सर्वसाधारणलाई अन्याय त परेको नै छ यसबाट सर्वसाधारणले शास्ती भोग्नु परेको छ। हरेक तहबाट हुने आन्दोलनले गर्दा सहर अस्तव्यस्त भएको देखिन्छ यसैबीच बिचौलिया हावी हरेक क्षेत्रमा व्यापक रुपमा देखिन्छ र यसको उदाहरण इम्बोस् नम्बर एउटै सवारीमा राज्यबाट जबरजस्ती दुईवटा नम्बर उपलब्ध गराउन खोज्नु नै गलत हो। पटकपटक हुने अनावश्यक शास्ति रोक्नु राज्यको जिम्मेवारी रहन्छ तर यहाँ राज्य नै गैर जिम्मेवार ढंगले नागरिकमाथि अनावश्यक शास्ती दिन खोज्नु भ्रमयुक्त समाचारहरू सम्प्रेक्षण गर्न नीतिगत तहका कर्मचारीहरू नै तल्लिन देखिन्छ। यसबाट राज्यसँग आम नागरिकले के आशा राख्ने ?”–उनले विज्ञप्तीमा लेखेका छन् ।
नेपालको एकताको प्रतिक देवनागरी लिपि मेटाउन इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउने सरकारको निर्णयलाई राष्ट्रघाती भन्दै जाग नेपाली आन्दोलन अभियान आन्दोलनमा उत्रिएको छ । इम्बोस्ड नम्बर प्लेटमा देश र विदेशको माफिया गिरोह लागेर नेपालको राष्ट्रिय एकताको प्रतिक देवनागरी लिपि नै नामेट पार्ने षड्यन्त्र भएको अभियानको ठहर छ । यो षड्यन्त्रविरुद्ध सिंगो देश एकजुट भई परास्त गर्नुपर्ने उनीहरुको भनाइ छ ।