७ श्रावण २०८२, मंगलबार | July 22, 2025

लहानका मेयर महेशले गरेको ब्रम्हलुटको उपमेयरले खोले पोल (भिडियोसहित)


1.1k
Shares

लाहान, ६ साउन । सिराहाको लहान नगरपालिकामा मेयर महेश प्रसाद चौधरीले ब्रम्हलुट गरेको खुलासा भएको छ । मेयर चौधरीले ठेक्कापट्टा देखि चुरे दोहनमा भ्रष्टाचार गरेको भन्दै उपमेयर राम चलितर महतोले सनसनीपूर्ण खुलासा गरेका हुन् ।

उपमेयर महतोले नगरपालिकामा भएका ब्रम्हलुटको अख्तियार देखि विभिन्न निकायमा उजूरी समेत गरेको बताए । यो उजूरी उपमेयरले नै गरेपछि तरंग आएको छ ।

मेयर महेश प्रसाद चौधरीमाथि नगरपालिकाको स्रोत र अधिकारको खुल्ला दुरुपयोग गर्दै, आफन्त र निकटतमहरूलाई पालिकाको संरचना भित्र भर्ना गरेर पदको दुरुपयोग गरेको समेत खुलेको छ । उपमेयर महतोले गरेका खुलासाअनुसार मेयर चौधरीले आफ्नो पदको आडमा भ्रष्टाचार, नातावाद, कमिसनखोरी र मापदण्ड विपरीत उत्खननमा समेत संलग्न हुँदै आएका छन्।

मेयर चौधरीले चाइना रेलवे कम्पनीसँग मिलेर नगरपालिका भित्र रहेको नदिजन्य उत्खनन गराईरहेको समेत खुलेको छ । यसमा ठूलो कमिशनको खेल रहेको पत्ता लागेको छ । यता पालिकामा भईरहेको विभिन्न आयोजना तथा निर्माण कार्यबाट मोटो रकम असुली गर्दै आएका छन्। योजनाहरूको मूल्यांकन, स्टीमेट तयार गर्ने र ठेक्का दिने काममा पारदर्शिता नअपनाई, आफन्त र पहुँचवालाहरूको संलग्नतामा योजना सञ्चालन गर्ने गरिएको छ। सोही अनियमित प्रक्रियामा मेयरकी बुहारी सपना थापा लेखा शाखाको कम्प्युटर अपरेटरका रूपमा कार्यरत रहेकी छिन्। थापाले चेक बनाउनेलगायत बजेट भुक्तानी प्रक्रिया सम्हाल्ने भएकाले आर्थिक कारोबार सीधा मेयरकै नियन्त्रणमा रहेको आरोप लागेको छ।

यसैगरी, मेयर चौधरीका छोरा अभिषेक चौधरी निर्माण ठेकेदारका रूपमा सबैजसो योजना कार्यान्वयनमा संलग्न छन्। योजना निर्माणदेखि ठेक्का वितरण, स्टीमेट निर्माणदेखि मूल्याङ्कन र अन्ततः रकम भुक्तानीसम्म मेयरको प्रत्यक्ष निगरानी रहेको खुलेको छ। यतिमात्र होइन, चौधरीले आफ्नो विश्वासपात्र एक महिलालाई समेत नगरपालिकामै जागिर दिएको सार्वजनिक भइसकेको छ।

चौधरीले लहान–१८ स्थित असोभापुरमा साझेदारीमा फार्महाउस सञ्चालन गर्दै आएका छन्। सार्वजनिक स्रोतको दुरुपयोग गर्दै सञ्चालनमा ल्याइएको भनिएको सो फार्महाउसमा पालिकाको बजेट, उपकरण र श्रम स्रोतसमेत खपत गरिएको हुनसक्ने आशंका गरिएको छ।

नगरस्तरीय योजनाबाट १० देखि २० प्रतिशतसम्म कमिसन अनिवार्य रूपमा उठाइने गरिएको, र सो कमिसन नदिए बजेट नै अवरुद्ध गरिने नीति अपनाइएको आरोप स्थानीय नेताहरुले लगाएका छन्। बजेट वितरण, ठेक्का छनोट, स्टीमेट पासजस्ता निर्णयहरू मेयर आफैंले गर्ने, र प्रमुख प्रशासकीय अधिकृत जयकान्त झासँग मिलेर भागबन्डा गर्ने गरेको आरोप समेत सार्वजनिक भएको छ।

उपमेयर महतोले खोले पोल

उपमेयर महतोका अनुसार, नगरपालिका ऐनले उपमेयरलाई प्रदान गरेका अधिकारहरू समेत मेयरले खोसेर आफूखुसी निर्णय गर्दै आएका छन्। काम, योजना र अनुगमनमा उपमेयरलाई समावेश नगरिएको मात्र होइन, विभिन्न मुद्दामा फसाएर दबाब दिने र कमजोर बनाउने रणनीति अपनाइएको छ। महतोले जनाएअनुसार, उपमेयरको गाडी नगर प्रहरीले बिच बजारबाट खोसेको थियो, जुन घटना आजसम्म समाधान भएको छैन।

मेयर चौधरीले चुनावअघि नगरपालिका गाडी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए, तर अहिले भने पालिकाकै सवारी चढेर डिजल–पेट्रोलको व्यापक दुरुपयोग गर्दै आएको प्रमाणित भइसकेको छ। यस्तै, पालिकाको स्रोत प्रयोग गरेर आफ्ना आसेपासे नेता र कार्यकर्तालाई पाल्नका लागि, होटल कुपन, खानपिन, नास्ता, भ्रमण खर्च लगायतका नाममा करोडौं रुपैयाँ खर्च गरिएको छ।

अर्को गम्भीर आरोप अनुसार, मेयर चौधरीले सञ्चारमाध्यमहरूलाई प्रभावमा पार्न केही पत्रकारहरूलाई नै नगरपालिकाको जागिर दिएको, र उनीहरूको माध्यमबाट आफ्ना कमिसन, अनियमितता, चुरे विनाश र अवैध उत्खननका समाचारलाई दबाउने प्रयास गरेको हो।

स्थानीय जनप्रतिनिधिहरूका अनुसार, मेयर चौधरीमाथि जति काम गरेका छन्, त्यसको तुलनामा बढी फाइलहरू अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेका छन्। अख्तियारमा उजुरी बढ्दो अवस्थामा रहे पनि, शक्तिको आडमा उनी अझै पदमा टिकिरहेकाले लहान नगरपालिका भ्रष्टाचारको दलदलमा फँसेको स्थानीयको बुझाइ छ।

प्रतिक्रिया