३ आश्विन २०८१, बिहिबार | September 19, 2024

चीनबाट अरबौंको सैन्य सामाग्री खरिदमा गोप्य चलखेल, कस्को स्वार्थ के ?


0
Shares

काठमाडौं, २१ वैशाख । नेपाली सेनाले चीनबाट सैन्य सामाग्री खरिद प्रक्रियालाई गोप्य तरिकाले अगाडि बढाएको छ । अरबौं नेपाली रुपैयाँ बराबरको यो सामाग्री खरिदमा ठूलै चलखेल भेटिएको छ ।

खरिद प्रक्रियामा सरकार देखि सेनाको नेतृत्व सम्मको चासो रहेको छ । चाँडै खरिद प्रक्रिया पूरा गर्न रकम पठाउने अन्तिम तयारी भएको छ । यसका लागि सेनाको कल्याणकारी कोषलाई पत्र समेत पुगेको छ ।

त्यसो त नेपालमा आर्थिक मामलाका क्षत्रमा चीनको संलग्नता प्रत्यक्ष अप्रत्यक्ष बढ्दै गएको छ । फाष्ट ट्रयाक निर्माणमा सेना छ र त्यसमा चिनियाँ निर्माण कम्पनीहरु नै ठेक्का पाएर बसेका छन् ।

सैन्य सामाग्री खरिद प्रक्रियासँग सम्बन्धित रहेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले चिनियाँ पक्षसँग प्रत्यक्ष अप्रत्यक्ष कुराकानी बढाइसकेका छन् । विचौलिया देखि केही प्रभावशाली जर्नेलहरुको हतियार खरिदमा सक्रियता बढेको छ ।

सेनाको राष्ट्रसंघीय मिसनमा प्रयोग हुने बख्तरबन्द गाडी खरिद प्रक्रिया बढिसकेको छ । २६ बख्तरबन्दको प्रति गाडी ५ लाख ३८ हजार डलर र ९४ रणनीतिक गाडीको प्रति गाडी २ लाख ५० हजार डलरमा खरिद गर्ने गरी प्रक्रिया बढेको हो । त्यसमा हजारौं गोली पनि समावेश छन् । यसका लागि नेपाली सेनाको कल्याणकारी कोषबाट खरिदका लागि रकम पठाइने तयारी बढेको छ । हतियार खरिदका लागि चिनियाँ कम्पनीसँ म्झौताका लागि कल्याणकारी कोषमा पत्र पुगेको हो । अरबौंको सैन्य गाडी र सामाग्री खरिद जी टु जी अन्तर्गत हुने गरेपनि कमिशनको खेल पनि रहने गरेको छ । चिनियाँ कम्पनी नोरिन्कोसँग सैन्य सामाग्री खरिद बढ्दा चिनियाँ राजदूत चेन सोङ पनि गोप्य भेटघाटमा आफै लागिपरे । उनले रक्षामन्त्री समेत रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्कालाई भेटेको बुझिएको छ । चिनियाँ दूतावासका अधिकारीहरुले शक्तिशाली निकायमा भेटघाट तिव्र पारेका छन् ।

सैन्य सामाग्री खरिदमा काँग्रेस सभापति शेरबहादुर देउवाका साला भुषण राणा र सेनाका जर्नेल सन्तोष बल्लभ पौडेलले पनि आफ्नो भित्री स्वार्थ देखाएका छन् । नोरिन्कोको नेपाली एजेन्ट लोकेन्द्र कार्की बनाइएका छन् । उनलाई नयाँ एजेन्ट बनाउन काँग्रेसभित्रको ठूलै शक्ति लागेको बुझिएको छ । चीन सैन्य सामाग्री नेपाललाई बेच्न यति सक्रिय भएको छ कि अमेरिकाबाट खरिद गर्ने भनिएको एम आइ १७ को विषय पनि ओझेलमा परेको छ । सेनालाई हतियारलगायतका सामाग्री बेच्न एजेन्टको काम गर्ने दिपक भट्ट पनि सुस्ताएका छन् । अहिले लोकेन्द्र कार्कीलाई शक्तिशाली निकायले अगाडि सारेको छ ।

यता फाष्ट ट्रयाकका हालसम्म टुंगो लागेका ठेक्काहरु सबैमा चिनियाँ र चिनियाँ कम्पनीसँगको संयुक्त कम्पनीलाई परेको छ । नेपाली सेनाले निर्माण गर्दै आएको काठमाडौं तराई द्रुत मार्ग फाष्ट ट्रयाकमा चिनियाँ कम्पनीहरुलाई नै ठेक्का पर्नु, निर्माण क्षेत्रका लागि भन्दै सरकारसँग निवेदन गएको विष्फोटक पद्धार्थ आयातमा नेपाली सेनाले चीनबाट ल्याउन राय माग गरिएकोमा सरकारलाई सकारात्मक जवाफ दिनु, एपीसी खरिदमा चिनियाँ कम्पनी छनोटका लागि योजनावद्ध तरिकाले प्रक्रिया बढाइनु यसका उदाहरणहरु हुन् । अर्कोतर्फ, सैन्य तहमा विगतमा भन्दा आवातजावत् बढ्न थालेको छ नेपाल र चीनबीच । चीनले राजनीतिक तहभन्दा सैन्य तहमा सम्बन्धलाई प्राथमिकतामा दिनुले शक्तिराष्ट्रहरुको चासोको प्रकृति पनि बदलिन थालेको छ ।

फाष्ट ट्रयाकमा हालसम्म ७ वटा प्याकेजको ठेक्का टुंगो लाग्दा सबैमा चिनियाँ कम्पनीहरु नै संलग्न छन् । सेनाले बनाइरहेको रणनीतिक सडकमा चिनियाँ संलग्नता यतिसम्म छ कि त्यहाँ अन्य देशका कम्पनी पस्नै नसक्ने अवस्था बनाइएको छ । नेपालको निर्माण क्षेत्रमा आवश्यक विष्फोटक पद्धार्थ दिन भारतले विभिन्न कागजपत्रको शर्त राखेपछि चीनबाट आयात गर्न थालिएको छ । यसका लागि नेपाली सेनाले सरकारबाट माग भएको रायमा सकारात्मक उत्तर दिएको छ । पछिल्लो समय सेनाले सैनिक बख्तरबन्द गाडि खरिदको प्रक्रिया बढाएको छ । सेनाको कल्याणकारी कोषमार्फत् रकम पठाउनुपर्ने खरिद प्रक्रियामा चिनियाँ कम्पनी नोरिन्को नै रोजाईमा परेको बुझिएको छ ।

प्रधानमन्त्री प्रचण्डले फाष्ट ट्रयाकको निर्माण अवधि तत्काल थप्ने निर्णय यसै महिना गरिसकेका छन् । उनकै पालामा सरकारले चीनबाट पूर्वाधार विकासका लागि विष्फोटक पद्धार्थ आयातको अनुमति दिएर धमाधम आइरहेको छ । अहिले एपीसी खरिद प्रक्रिया टुंगो लाग्दैछ । चीनले सैन्य तहमा सम्बन्ध बढाएर नेपालमा आफ्नो प्रभाव बलियो बनाएको देखिदैछ । एकातर्फ, नेपालमा विभिन्न बहानामा शक्तिराष्ट्रको सैन्य रणनीतिलाई लाद्न नदिने आवाज राजनीतिक दलका नेताहरुले उठाइरहेका छन् । अर्कोतर्फ, चीनले सैन्य गतिविधि बढाउँदै लगेको छ । उसले यसबाट आर्थिक लाभ पनि उत्तिकै लिइरहेको एपीसी, विष्फोटक पद्धार्थ खरिद देखि फाष्ट ट्रयाकको ठेक्काले पनि देखाउँछ । तर, जटिल भूराजनीतिक अवस्थितिका कारण अन्य शक्तिहरुको चलखेललाई मलजल गर्ने खतरनाक प्रतिक्रियाहरु पनि देखिनथालेका छन् । चीनसँगको बढ्दो सैन्य सम्बन्धले भारत र अमेरिकालाई चिढ्याउन सक्ने सम्भावना उत्तिकै छ ।

प्रतिक्रिया