नेपालका प्रतिभावान युवा क्रिकेटरका लागि ‘भारतीय राजदूत क्रिकेट फेलोशिप’ घोषणा

काठमाडौं, २६ जेठ । नेपालका युवा क्रिकेटरहरुले भारतका प्रतिष्ठित क्रिकेट कोचिङ एकेडेमीहरुमा प्रशिक्षणको फेलोशिप पाउने भएका छन् । भारतीय राजदूत क्रिकेट प्रतियोगिता सम्पन्न भएसँगै भारतीय राजदूतावासले फेलोशिपको घोषणा गरेको हो ।
“नेपाली युवाहरुका लागि राजदूत क्रिकेट फेलोशिप” नाम दिइएको यो फेलोशिप अन्तर्गत नेपालबाट दुइजना युवा क्रिकेटरहरुलाई भारतका प्रतिष्ठित कोचिङ एकेडेमीहरुमा कोचिङ प्राप्त गर्ने अवसर प्रदान गरिने जनाइएको छ । भारतीय राजदूत नवीन श्रीवास्तवले खेलकुदको क्षेत्रमा भारत–नेपाल सहकार्यलाई अझ प्रगाढ बनाउने उद्देश्यका साथ तीनजना आशालाग्दा यू–१९ नेपाली क्रिकेटरहरुलाई क्रिकेट किटहरु हस्तान्तरण गरे ।
भारतीय राजदूत क्रिकेट प्रतियोगिता यस वर्षबाट सुरु भएसँगै क्रिकेटका क्षेत्रमा भारतले थप सहोगको घोषणा गरेको हो । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा भारतीय राजदूतावासको टोलीले भारतीय डायस्पोराको टोलीसँग रोमाञ्चक खेल खेलेको थियो ।
भारतीय राजदूतावासले २०८२ जेठ १७ गतेदेखि जेठ २५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा भारतीय राजदूत क्रिकेट प्रतियोगिताको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको हो। प्रतियोगितामा भारतीय दूतावास, नेपालको परराष्ट्र मन्त्रालय, बेलायती दूतावास, नेपाल पत्रकार महासंघ, कर्पोरेटहरु र नेपालमा रहेका भारतीय डायस्पोराको प्रतिनिधित्व गर्ने छ टोलीहरुको उत्साहजनक सहभागिता देखिएको थियो ।
फाइनलपछि ट्रफी वितरण समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्र राजभण्डारी उपस्थित थिए । सो अवसरमा खेलमा उत्कृष्ट प्रदर्शन गर्नेहरुलाई सम्मान गरिएको थियो ।
प्रतियोगिताको सफलताको उत्सव मनाउन रिसेप्सन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजु लाल चौधरी, राजदूत, क्यानका अध्यक्ष र नेपालको महिला राष्ट्रिय क्रिकेट टोलीका सम्मानित सदस्यहरुको उपस्थिति थियो ।