१५ जेष्ठ २०८२, बुधबार | May 29, 2025

कच्चा पाममा आर्थिक खेल, डटाबेस परिवर्तन भएको आशङ्का


249
Shares

राधेश्याम पटेल, परवानीपुर । एक देशबाट अर्को देशमा सामान आयात–निर्यात गर्न अन्तर्राष्ट्रियस्तरमा हरेक देशले भन्सार डेटाबेस (भन्सार शीर्षक, उपशीर्षकहरू)को व्यवस्था कार्यान्वयनमा ल्याएको हुन्छ । अन्तर्राष्ट्रिय मापदण्डको डेटाबेसलाई छेडछाड गर्न पाइँदैन । तर नेपालमा केही रिफाइनरी उद्योगलाई फाइदा हुने गरी क्रूड पामोलिन आयलको भन्सार उपशीर्षक (एचएस कोड) परिवर्तन गर्ने चलखेल भइरहेको चर्चा छ । व्यवसायीहरूका अनुसार नेपाल उद्योग वाणिज्य महासङ्घका दुईजना पूर्वपदाधिकारी नै यस कार्यमा संलग्न रहेको आरोप छ ।

विगत ३० वर्षदेखि कच्चा पाम तेल भन्सार उपशीर्षक १५११.१०.०० मा आयात भइरहेको छ भने यसले औद्योगिक कच्चा पदार्थलाई समेट्छ । उपशीर्षक १५११.९०.०० अन्तर्गत आयात गरिने तेलहरू प्रशोधित, ब्लीच गरिएको वा गन्धरहित पाम तेललाई जनाउँछ । यसै सन्दर्भमा वल्र्ड कस्टम अर्गनाइजेशन (डब्लुसिओ)द्वारा प्रकाशित एक्सप्लानेटरी नोट्स २०२२ ले समेत कच्चा पाम तेललाई उपशीर्षक १५११.१०.०० अन्तर्गत नै राखेको छ । तर केही उद्योगीहरूले सरकारी उच्च अधिकारीहरूलाई प्रभावमा पारी कच्चा पाम तेललाई १५११.९०.०० उपशीर्षकमा ल्याउन खोजिरहेको व्यवसायीहरूको भनाइ छ । यसो गर्दा पूर्वी नेपाल र पश्चिमी नेपालका गरी दुई उद्योगलाई फाइदा हुन्छ । बाँकी करीब दुई दर्जन उद्योग मर्कामा पर्ने भएकोले त्यसो हुन नदिन अन्य उद्योगीहरूले माग गरेका छन् ।

आगामी आर्थिक वर्ष २०८२/८३ को लागि नेपाल सरकारले ल्याउने बजेट र आर्थिक ऐनमा भन्सार दरबन्दीको उपशीर्षक नम्बर पुनर्वर्गीकरण गर्दा अर्बौंको लगानी डुब्ने खतरा सृजना हुने देखिन्छ । वीरगंजस्थित ओसिबी फूड्स एन्ड फिड्सका सञ्चालक नारायण रूँगटाका अनुसार आफूले यसबारेमा गाइँगुइँ सुनिरहेको तर वास्तविकता बुझ्न नसकेको बताए । यदि यो चलखेल भयो भने कुल २६ उद्योगमध्ये २४ वटा उद्योग बन्द भई अर्बौंको लगानी जोखिममा पर्ने खतरा बढ्छ । “मैले पनि माथिल्लो निकायमा सम्पर्क स्थापित गर्ने प्रयास गरिरहेको छु, केही प्रतिष्ठानबाट कुरा उठिरहेको छ, यदि कच्चा पाम तेललाई रिफाइन्ड उपशीर्षकमा ल्याइयो भने कच्चा तेल नेपाल आउँदैन र नेपालका उद्योगहरू बन्द हुनेछन्,” उनले भने, “यसमा नेपाल वनस्पति घ्यू तेल उद्योग सङ्घले चासो राखेर पहलकदमी गर्नुपर्ने हो ।”

वास्तवमा व्यावसायिक वृत्तमा उठेको चर्चा वास्तविक हो कि हल्ला थाहा पाउनु जरुरी छ, यसको सत्यतथ्य पत्ता लगाउने प्रयासमा छु, उनले भने । भारत सरकार अन्तर्गतको एक्सटर्नल बोर्ड अफ इन्डाइरेक्ट टेक्सेस कस्टम (सिबिआइसी)ले पनि कच्चा पाम तेललाई एचएस कोड १५११.१०.०० अन्तर्गत वर्गीकरण गरेको छ । प्रशोधित (आरबिडी) पाम तेललाई १५११.९०.०० उपशीर्षक अन्गर्तग खानयोग्य तेलको रूपमा समावेश गरेको छ । नेपालमा पनि विगत तीन दशकदेखि खाद्य प्रयोजनका तेलको आयात तथा निर्यात सोही वर्गीकरणअनुरूप हुँदै आएको व्यवसायीहरूले बताए । खाद्य र अखाद्य वस्तुको पहिचान तथा वर्गीकरण गर्ने अधिकार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको छ । सो अधिकारको प्रयोग गरी विभागले कच्चा पाम तेल मानी यसलाई भन्सार उपशीर्षक १५११.१०.०० अन्तर्गत आयात गर्न स्पष्ट व्यवस्था गरेको अवस्थामा यस्तो चलखेल हुनु कानूनविपरीत र अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्तविपरीतको काम भएकोले यसमा सबै सरोकारवाला पक्ष गम्भीर बन्न आवश्यक रहेको वीरगंजका व्यवसायीहरूको भनाइ छ ।

देशमा सञ्चालित कुल २६ वटा रिफाइनरी उद्योगमध्ये सबैभन्दा बढी १४ वटा उद्योग वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा रहेका छन् । यदि आशङ्का गरिएको भन्सार दरको उपशीर्षक (एचएस कोड) परिवर्तन भयो भने बढी घाटाको भागीदार यसै क्षेत्रका व्यवसायीहरू बन्नेछन् । यस विषयमा नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका अध्यक्ष विकास दुगडले आफूलाई यस विषयमा केही थाहा नभएको बताए ।

प्रतिक्रिया