अख्तियार कति आक्रामक बन्ला ?

काठमाडौं, ८ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा रहँदा भिजित भिसामा बिदेश जानेसँग रकम असुल्ने गिरोहसँगको साँठगाँठको आरोपमा सहसचिव तीर्थराज भट्टराईमाथि छानविन बढाएको छ । गृहमा तानिएका भट्टराईलाई बुधबार साँझ नियन्त्रणमा लिई बयान लिइएको छ । उनलाई हाजिरीमा छाडेपनि अनुसन्धान जारी रहेको जनाइएको छ ।
यसअघि टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित पूर्वसचिव धनराज ज्ञवालीमाथि अख्तियारले मुद्दा दायर गरेको छ । यसरी अख्तियार आक्रामक बन्दै गएको छ ।
अख्तियारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार प्रकरणको अध्ययन उपसमितिको प्रतिवेदन पुगेको छ । यो प्रकरणमा पनि अख्तियार चाँडै एक्सनमा जाने बुझिएको छ ।
पतञ्जली जग्गा प्रकरणको फाइल पनि अख्तियार पठाएको छ संसदीय उपसमितिले । यस मामलामा पनि मुद्दा दायर गर्ने गरी काम बढेको छ ।
अख्तियार अहिले आक्रामक बन्दै गएको छ भ्रष्टाचार प्रकरणमा । ठूलो प्रकरणमा संलग्न दोषीमाथि कारबाही गर्न तम्सिएको छ ।