विद्याको चीन भ्रमणले के पाक्ला ?

काठमाडौं, ८ जेठ । नेपालका कम्युनिस्ट पार्टीहरुको चिनियाँ कम्युनिष्ट पार्टीहरुसँग विशेष सम्बन्ध छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायत दलहरुको चिनियाँ कम्युनिस्ट पार्टीसँग मित्रवत् सम्बन्ध नै घोषित छ । उनीहरुबीच भ्रमण आदानप्रदान मात्र हुँदै प्रशिक्षण समेत हुनेगर्छ ।
एमाले र माओवादी एक भएर नेकपा बन्दा चिनियाँ कम्युनिस्ट पार्टीले प्रशिक्षण नै गराएको थियो । नेपालसँग उत्तरतर्फ सीमा जोडिएको चीनको कम्युनिस्ट दलमा प्रभाव यसबाट पनि देखिन्छ ।
चीनमा सबैभन्दा ओहोरदोहोर चल्नेमा कम्युनिस्ट नेताहरु नै पर्छन् । पार्टीलाई भ्रमणको कोटा आएकोमा जाने होडवाजी नै चल्छ । उच्च तहमा समेत भ्रमण हुन्छ जसको ठूलो अर्थ रहन्छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण निकै चासोको विषय बनेको छ यसपटक । उनी केही वर्ष अघि नै चीन जान चाहन्थिन् तर रोकिइन् । यसपटक भने केपी शर्मा ओली नेतृत्वको सरकारले समेत यो भ्रमणलाई सरकारी स्तरमै बनाएको छ ।
भण्डारीको १० जेठबाट हुने दश दिनको भ्रमण गान्तु प्रान्तमा आयोजित दुईवटा कार्यक्रमको मुख्य अतिथि बन्ने गरी मिलाइएको छ । तर, उनको साथमा उद्दोगमन्त्री दामोदर भण्डारी पनि सहभागी हुनेछन् । एमाले सचिव रघुवीर महासेठ पनि भ्रमण दलमा छन् । विद्यासँग नजिकिएका एमाले नेता कर्णबहादुर थापा, गोमा देवकोटा, डा. कैलाश भण्डारी, डा. भेषराज अधिकारी र डा. महेन्द्र बिष्ट पनि भ्रमण दलमा रहने तय छ । भ्रमण दलमा मदन भण्डारी फाउन्डेशनका सदस्यहरु समेत रहनुलाई अर्थपूर्ण मानिएको छ ।
एमालेभित्र एउटा गुट भण्डारीलाई अध्यक्ष बनाउन लागिपरेको छ । ओलीको उत्तराधिकारीका रुपमा उनलाई हेर्नेहरु पनि छन् ।
माओवादी अध्यक्ष प्रचण्डलाई समेत मनाएर भण्डारीलाई नेतृत्वमा ल्याएर कम्युनिस्ट एकताको डिजाइन पनि चलिरहेको छ । यस्तो परिस्थितिका बीच भण्डारी चीन गएर महत्वपूर्ण कुराकानी गर्ने बुझिएको छ । भण्डारीनिकट कतिपय संस्थालाई चीनको सहयोग मिल्दै आएको छ ।-File Photo