पशुपतिनाथको दर्शनको भाकल राख्छन् भारतका हाइप्रोफाइल

काठमाडौं, २९ चैत्र । बिमस्टेकका कृषिमन्त्रीहरुको बैठकमा सहभागी हुन आएका भारतका कृषिमन्त्री शिवराज सिंह चौहानले बिहिबार पशुपतिनाथ दर्शन गरेको विषय चर्चामा रह्यो । उनले पशुपतिनाथको दर्शनपछि सपरिवार भिडियो बनाएर जीवन धन्य भएको बताए । वर्षौंदेखिको मनोइच्छा पूरा भएको भने ।
चौहान मात्र नभई भारतका हाइप्रोफाइल पशुपतिनाथको दर्शनको भाकल राखेर आइरहन्छन् । भारतका प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक पशुपतिनाथको दर्शनको उद्देश्यसहित आएका थिए । उनले पशुपतिनाथ दर्शन गरेको विषय विश्वका एक अर्बभन्दा बढी हिन्दूमाझ चर्चाको विषय बनेको थियो सन् २०१४ मा ।
बलिउड नायक गोविन्दा हरेक नयाँ चलचित्र रिलिज हुनुअघि या बनाउनुअघि पशुपतिनाथको विशेष पूजा गर्न आउँछन् । सबैभन्दा बढी पशुपतिनाथको दर्शन गर्न आउने हाइप्रोफाइल भारतीयमा गोविन्दा पनि पर्छन् ।
भारतीय जनता पार्टीका प्रभावशाली नेताहरु व्यक्तिगत भ्रमणमा पशुपतिनाथको दर्शन गर्न आउँछन् । भाजपा महासचिव हुँदा डा. अनिल जैन पशुपतिनाथ दर्शनकै लागि दुई घन्टाको नेपाल यात्रमा आएका थिए केही वर्षअघि ।
भारतको क्रिकेट बोर्डको प्रमुखमा नियुक्त हुनुअघि जय साहले पशुपतिको विशेष पूजा गरेका थिए । उनी सपरिवार पशुपतिनाथको दर्शनपछि बोर्डको प्रमुखमा नियुक्त भई विश्वको धनी क्रिकेट बोर्ड चलाइरहेका छन् ।
भारतको लोकसभा र विधानसभाको चुनावको केही महिनाअघि टिकटका आकांक्षीहरुको पशुपतिनाथ ओहोरदोहोर खुबै भएको थियो । यसरी भारतमा हिन्दूहरुमा पशुपतिनाथप्रतिको आस्था र दर्शन गर्ने हुटहुटी झन् बढ्दै गएको छ ।