२२ फाल्गुन २०८१, बिहिबार | March 6, 2025

करोडसम्म खर्चेर अमेरिका छिरे, हत्कडी र चेनमा बाँधिएर फर्किए


166
Shares

काठमाडौं,२२ फागुन । सुस्मा घर्ती, लक्ष्मण कँडेल, सुकुमार पुन मगर, हिमाल विक, मोहन गौतम, टोप घर्ती, कमल ओली र दीपक खड्का अवैध बाटो हुँदै विभिन्न मितिमा अमेरिका पुगेका थिए । १२ वटा मुलुक पार गरेर अमेरिका पुग्दासम्म उनीहरूले बेहोरेको सास्ती उनीहरूलाई मात्रै थाहा छ ।

करोडसम्म खर्चेर अमेरिका छिरे, हत्कडी र चेनमा बाँधिएर फर्किए

‘अमेरिकी भूमिमा टेक्नै पाए मात्रै हुने’ एक मात्र उद्देश्यसहित ५० लाखदेखि करोड रुपैयाँसम्म ‘दलाल’लाई बुझाएका दाङ, रुकुम पूर्व, रुकुम पश्चिम, रोल्पा र डोटीका २० देखि ३५ वर्ष उमेर समूहका यी युवाले अमेरिका जाँदा, अमेरिका पुगेपछि र अमेरिकाबाट नेपाली भूमिमा टेक्दासम्म दुःख र पीडाबाहेक केही पाएनन् । यति मात्र होइन, उनीहरूले आफ्नै जन्मभूमि फर्किंदा पनि हातमा हत्कडी र खुट्टामा चेनको पीडा बेहोर्नुप¥यो ।

हो, अमेरिकाको टेक्सास राज्यबाट डिपोर्ट भएका नौ जना नेपाली बिहीबार काठमाडौं आइपुगेका छन् । ५ देखि १० महिनाअघि मात्रै अमेरिका पुगेका उनीहरूमध्येका आठ जनालाई अमेरिकन प्रहरीले चार्टर उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको थियो । उनीहरूलाई ग्रिफान एयरको चार्टर विमानमार्फत ल्याइएको थियो ।

उनीहरूलाई हिरासतमा रहेका बेला आफैं स्वदेश फर्किने कि कानुनअनुसार प्रतिवाद गर्ने भनेर सोधिएको थियो । जतिले कानुनअनुसार प्रतिवाद गर्ने भने उनीहरूलाई हत्कडी र चेनले बाँधेर पठाएको पाइएको छ ।

डिपोर्ट भएकी एक जना महिलाचाहिँ व्यावसायिक उडानमार्फत काठमाडौं आइपुगेकी हुन् । चार्टर उडानमार्फत आएका आठ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म छाड्न चार जना अमेरिकी प्रहरी पनि सँगै आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हत्कडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरूको भनाइ छ । हत्कडी र चेन खोलेर अमेरिकन प्रहरीले यहाँ जिम्मा लगाएर फर्केको उनीहरूको भनाइ छ ।

डिपोर्ट ९निष्कासन० भएकाहरूले पनि आफूहरूलाई जहाजमा समेत हत्कडी र चेन लगाएको बताएका छन् । ‘अमेरिकाबाट आउँदा हत्कडीसँगै हामीलाई खुट्टामा समेत चेनले बाँधिएको थियो, ट्रान्जिटपछि भने खुट्टाको चेन खोलिदिएको थियो,’ डिपोर्ट भएर फर्किएका एक जनाले प्रहरी अधिकारीसँग भनेका छन्, ‘त्यसबेला हामीलाई बसेको ठाउँबाट हल्लिन पनि दिइएको थिएन, वासरुम प्रयोग गर्न पनि कयौंपटक अनुरोध गर्नुप¥यो ।’

उनीहरूले आफूहरू एकदमै अप्ठ्यारो परिस्थितिमा स्वदेश आइपुगेको पनि बताएका छन् । ‘त्यस अवधिमा हामीलाई राम्रोसँग खाना खान पनि दिइएन, कहिलेकाहीँ क्रु मेम्बरले फलफूल दिन्थे, तर त्यो पनि सकभर हत्कडी त्यतिकै राखेर खान दबाब दिन्थे,’ डिपोर्ट भएकाहरूले भनेका छन् ।

उनीहरूले जहाजभित्र २४ घन्टासम्म आफूहरूलाई हातखुट्टामा हत्कडी लगाएर राखिएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि जहाजभित्रै हत्कडी खोलिएको उनीहरूको भनाइ छ ।

चार्टर विमानबाट फर्काइएका आठ जनालाई टेक्ससबाट न्युयोर्क र अल्बानिया ट्रान्जिट हुँदै नेपाल ल्याइएको हो । उनीहरू सवार चार्टर विमान इन्धन भर्न अल्बानियामा १ घण्टा रोकिएको थियो ।

डिपोर्ट भएकामध्ये व्यावसायिक उडानमार्फत काठमाडौं आइपुगेकी डोटी घर भएकी विनितालाई ‘डिपोर्टको निर्णय भएपछि स्वदेश फर्किन राजी भएको हुनाले’ व्यावसायिक उडानमार्फत आउन दिइएको हो । काठमाडौं अवतरण भएपछि उनले अध्यागमन अधिकृतहरूसँग भनेकी छन्, ‘डिपोर्टको निर्णय भएपछि म स्वदेश फर्किन राजी भएको हुनाले मलाई चार्टर विमानमा पठाइएन ।’ उनी टेक्ससबाट कतारको दोहा हुँदै काठमाडौं आएकी हुन् ।

उनी ४ फ्रेबुअरी २०२४ मा काठमाडौंबाट अमेरिकाको यात्राका लागि निस्केकी थिइन् । सेप्टेम्बरमा अमेरिका पुगेकी विनिताले दुबई, ब्राजिल, मेक्सिको हुँदै अमेरिका पुगेको बताएकी छन् । उनले त्यहाँ पुग्न ७० लाख रुपैयाँ खर्चेकी थिइन् ।

डिपोर्ट हुनेहरूमा दाङका तीन जना, रुकुम पश्चिम र रुकुम पूर्वका दुई–दुई जना, रोल्पा र डोटीका एक–एक जना छन् ।

सीमा पर्खाल कटेको केहीबेरमै हिरासतमा
लाखौं खर्चेर अमेरिका पुगेका उनीहरू सिमानाको पर्खाल कटेको केहीबेरमै पक्राउ परेका थिए । त्यसपछि उनीहरूको हिरासत बसाइ सुरु भएको थियो ।

नेपाल प्रहरीको मानव बेचबिखन ब्युरोका एसपी नरेन्द्र कुँवरका अनुसार बुधबार फर्काइएकाहरू अमेरिकामा लामो समयदेखि डिटेन्सन ‘अफिसियल कस्टडी’मा रहेका व्यक्तिहरू हुन् । उनीहरूलाई मानव बेचबिखन ब्युरोले बबरमहलस्थित ब्युरोको कार्यालयमा ल्याएर अनुसन्धान र सोधपुछसमेत गरेको थियो ।

‘सोधपुछका क्रममा उनीहरू त्यहाँ ५ देखि ९ महिनासम्म डिटेन्सनमा बसेको पाइएको छ,’ एसपी कुँवरले भने, ‘उनीहरूसँग मानव बेचबिखनविरुद्धको कानुनअनुसार पीडित भए नभएको ’दयगतमा सोधपुछ र परामर्श गरिएको थियो ।’

उनका अनुसार, काठमाडौंबाट दुबई हुँदै युरोप पुगेका उनीहरू ब्राजिल पुगेर मेक्सिको पुगेका थिए । त्यसपछि मेक्सिकोबाट सीमानाका पार गरेर अमेरिका पुगेका थिए ।

ब्राजिल पुगेपछि भने बिचौलियाले भनेअनुसार उनीहरूले पासपोर्ट फ्याँकिदिएका थिए । त्यहाँबाट कोही विमानमा र कोही सडक मार्ग हुँदै मेक्सिको पुगेका थिए । ब्राजिलबाट शरणार्थी बनेर उनीहरू अमेरिका प्रवेश गरेको देखिएको प्रहरीको भनाइ छ ।

‘जंगल, खोला, समुद्र हुँदै महिनौं लामो यात्रा गरेर उनीहरू अमेरिका पुगेका थिए,’ सोधपुछमा संलग्न एक अधिकृतले भने, ‘उनीहरू त्यहाँ पुगेलगत्तै समातिएका रहेछन् ।’

५० लाखदेखि करोड रुपैयाँसम्म बुझाएका थिए
मानव बेचबिखन ब्युरोले गरेको सोधपुछका क्रममा उनीहरू अमेरिकासम्म पुग्दा लाखौं खर्च भएको देखिन्छ । ‘उनीहरूले प्रतिव्यक्ति ५० लाखदेखि करोड रुपैयाँसम्म खर्च गरेको बताएका छन्, कसैले ५० लाख, कसैले ६५ लाख पनि खर्च गरेको देखिन्छ,’ एसपी कुँवरले भने ।

फर्किनेहरू अधिकांश २० देखि ३५ वर्ष उमेर समूहका छन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले अवैध आप्रवासीहरूप्रति कडा नीति लिए । ठीक त्यसैबेला डिटेन्सनमा रहेका नेपालीलाई त्यहाँको अदालतले ‘डिपोर्ट’ गर्ने आदेश गरेको प्रहरी अधिकृतहरू बताउँछन् ।

बिचौलिया’दयगत बताउन अस्वीकार
अमेरिकाबाट फर्काइएकाहरूसँग ब्युरोका अनुसन्धान अधिकृतहरूले त्यहाँ पठाउने समूह’दयगत सोधपुछ गर्दा उनीहरूले बताउन अस्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीसँग उनीहरूले भनेका छन्, ‘कसैविरुद्ध पनि उजुर बाजुर गर्दैनौं ।’

उनीहरूलाई ब्युरोका प्रहरीले राज्यसँग कुनै गुनासो छ भनेरसमेत सोधेका थिए । त्यसक्रममा उनीहरूले अमेरिका वा आफ्नो देशसँग कुनै गुनासो नभएको बताएका थिए । बरु, उनीहरूले डोनाल्ड ट्रम्पको कार्यकाल सकिएपछि फेरि अमेरिका जाने बताएको एक अधिकृतले बताए ।

प्रहरीले उनीहरूसँग सोधपुछमार्फत अमेरिका पठाउने भन्दै असुली गर्ने मानव तस्करीको ¥याकेटसम्म पुग्ने विश्वास लिएको थियो । तर, ती डिपोर्ट भएकाहरू आफूहरूलाई पठाउने व्यक्ति’दयगत बताउन तयार भएनन् । उनीहरू सबैलाई सोधपुछपछि बुधबार नै परिवारको जिम्मा लगाइएको छ ।

५० जना बिचौलिया सक्रिय
नेपालबाट अमेरिका पठाउने ५० जना बिचौलिया सक्रिय रहेका भेटिएको छ । प्रहरीको मानव बेचबिखन ब्युरोले बिचौलियाहरूको सूची बनाएर अनुसन्धान गरिरहेको छ ।

काठमाडौंबाट अवैध तरिकाले मेक्सिको हुँदै अमेरिका पठाउन कम्तीमा ५० जना गिरोह सक्रिय रहेको र उनीहरू’दयगत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ट्रम्पको पुनरागमनपछि ४७ जना निष्कासित
अध्यागमन विभागका अनुसार अमेरिकामा डोनाल्ड ट्रम्प ४७औं राष्ट्रपतिमा निर्वाचित भएयता ३५ जना नेपाली नागरिक निष्कासित भइसकेका छन् । तीमध्ये पाँच जना महिला छन् ।

अमेरिकाले यसअघि २ पुस २०७६ मा पनि अवैध रूपमा गएका पाँच नेपाली युवालाई चार्टर विमानमार्फत फर्काइदिएको थियो । त्यसबेला फर्काइएकाहरू रुकुम, दाङ र बाग्लुङ जिल्लाका थिए । उनीहरू आफ्नो सामान बोरामा राखेर फर्किएका थिए । त्यसबेला फर्किएकाहरू कतिपय भारत–रसिया–हुन्डुरस–पानामा हुँदै दुई महिनामा अमेरिकी सीमा पुगेका थिए । सीमाको पर्खाल कटेको केहीबेरमै पक्राउ परेर उनीहरू हिरासतमा पुगेका थिए । त्यसपछि उनीहरूले शरणार्थीका रूपमा बस्न पाउँ भन्दै निवेदन दिएका थिए ।

यस्तै, पछिल्लो ६ वर्षमा २ सय ६२ जना नेपाली डिपोर्ट भएको प्रहरीको मानव बेचबिखन ब्युरोले जनाएको छ । यो तथ्यांक २०७५ सालभन्दा पछिको हो ।

जापान र क्यानडासहित ६ देशबाट ११ नेपाली फिर्ता
यस्तै, अमेरिकाबाहेकका ६ देशबाट डिपोर्ट र प्रवेश निषेध गरेका ११ जना नेपाली बुधबार नै काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अनुसार जापानले दुई जना र दक्षिण कोरिया, श्रीलंका र क्यानडाबाट तीन जना नेपालीलाई डिपोर्ट गरेको हो । बाज्रिल पुगेका तीन जना र अजरवैजान पुगेका तीन जना गरी ६ जना ‘इन्ट्री रिफ्युज’ ९प्रवेश निषेध०का कारण स्वदेश फर्काइएका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया