ट्रम्पले रोके सम्भावित ‘तेस्रो विश्वयुद्ध’

डा. दीपेश केसीः सँसारमा भएका दुईवटा विश्वयुद्धका कारण अमेरिका र रुस दुवै होइनन् । पहिलो र दोस्रो विश्वयुद्धका पक्ष र विपक्षका मुख्य नतृत्वकर्ता बेलायत र फ्रान्स भर्सेस जर्मनी नै हुन् । दोस्रो विश्वयुद्धमा बेलायतविरुद्ध जर्मनी नै हो । लाखौं लाख मारिएको युद्धको केन्द्र यूरोप थियो । युद्धको केन्द्र यूरोप हुनुमा ती देशहरुबीच उपनिवेश खडा गर्ने र खनिजको दोहोन गरी बजार कब्जासम्मको प्रतिष्पर्धा नै कारण थियो । यूरोपेलीहरु आर्थिक लाभ र खनिजका लागि कहाँ लड्न पुगेनन् । उनीहरु नेपालसम्म लड्न आइपुगेको इतिहास छ । भारत त उपनिवेश नै बनाएका थिए । तर, दुई विश्वयुद्धले ठूलै हलचल ल्याइदियो सँसारमा । विश्वका धेरै देश मात्र नभई ती देशका फरक समुदाय पक्ष विपक्षमा लागेर युद्ध गरेका थिए । दुई विश्वयुद्धले यूरोपको शक्ति केही कमजोर मात्र गरायो ।
दुईवटा विश्वयुद्धको पश्चात पनि यूरोप सँसारभर हावी भइरहेको छ अझै । पछिल्लोपटक रुससँग अप्रत्यक्ष रुपमा लडिरहेका छन् यूरोपेली युनीयनसम्वद्ध देशहरु । उनीहरु युक्रेनलाई हतियार र पैसाले सघाइरहेका छन् । अमेरिकाले पनि त्यो युद्धमा ठूलो धनराशी खर्चियो । जो वाइडेन राष्ट्रपति हुँदा ४०० अर्ब डलर खर्च गरेको तथ्य ट्रम्पले सार्वजनिक गरिसके । अब उनी राष्ट्रपति भएपछि खर्च रोकिदिए युक्रेन युद्धका लागि । ट्रम्प तीखो वाणीका साथ युद्ध अन्तको आव्हान गरिरहेका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोन वार्ता गरे । आफ्ना वरिष्ठ अधिकारी साउदी अरब पठाएर वार्ता गराए । युद्ध र शान्ति दुवैका नाममा अमेरिकाले दिने गरेको रकम रोकिदिए ।
ट्रम्पले जेलेन्स्कीलाई अमेरिका बोलाएर युद्ध अन्तको दबाब दिन खोजे । तर, व्हाइट हाउसको १० मिनेटमै वार्ता सकियो तनावग्रस्त परिस्थिति बनेपछि । जेलेन्स्कीले युद्ध खोजेको र अमेरिकालाई तेस्रो विश्वयुद्धमा धकेल्न खोजेको भन्दै कडा चेतावनी दिए । व्हाइट हाउसबाट निकाल्न लगाए । अमेरिका युद्ध चाहँदैन भन्ने सन्देश दिए ट्रम्पले । अमेरिकालाई घटेचेर आणविक युद्धमा लान खोजेको भन्दै यूरोपका शक्तिशाली देशको पनि आलोचना गरे ।
युक्रेनलाई फ्रान्स र बेलायत जस्ता देशहरुले युक्रेन युद्धमा अमेरिकाको भन्दा आधा खर्च गरेको तथ्यांक आएको छ । अब रुसविरुद्धको युद्धमा यूरोपका शक्तिशाली देशहरु कति समयसम्म बढ्लान् र के के गर्लान् चासो बनेको छ । अमेरिका यूरोपसँग भन्दा अन्य शक्तिसँग नजिकिन थालेको छ । ट्रम्पले राष्ट्रपति बनेपछि सुरुमै प्रधानमन्त्री बेन्जामिन नेतान्याहु, जोर्डका राजा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटेर सन्देश दिइसके । यूरोपका शक्तिशाली देशसँग चिढिएका छन् उनी । वास्तवमा सँसारमा यूरोप शक्ति जोगाइराख्न संघर्षरत छ । उसको सयौं वर्षको दबदबा कायम राख्न चाहन्छ । तर, चीन, भारत, जापान, ब्राजिल, दक्षिण अफ्रिका जस्ता उदयीमान देशहरुलाई बेवास्ता गरेर जाने पक्षमा ट्रम्प देखिदैनन् । उनी यूरोपको घट्दो शक्तिबाट जानकार छन् ।
युद्धले खोक्रो बन्दै गएको यूरोपको सडकहरुको अन्धकारबारे ट्रम्प जस्ता चलाख नेताले बुझेका छन् । जर्मनीमा सडक अन्धकार हुनुमा ऊर्जा संकट हो । यूरोपका अन्य देशमा उत्तिकै संकट बढ्दो छ । युद्धले यूरोप समस्यामा फस्दै गएको छ । त्यो संकटको खाडलमा सँगै खस्न अमेरिका चाहँदैन । त्यसैले ट्रम्प पुटिनसँग हात मिलाएर जान चाहिरहेका छन् । उनले त्यसै अमेरिकालाई फेरि महान बनाउँछु भनेका होइनन् । ट्रम्प आफ्नो राष्ट्रका लागि जस्तोसुकै कठोर बन्न सक्छन् भन्ने जेलेन्स्कीप्रतिको व्यवहारबाट बुझिन्छ ।
बलियो छिमेकीसँग लड्दा जेलेन्स्कीको केही वर्ष वाहीवाही भयो । लोकप्रीयताको जग टेकेर उठेका उनी राष्ट्रवादी र साहसी कहलाइए । तर, युक्रेन साँघुरो भयो । उसका खनिजमाथि विदेशीको हात लाग्न थाल्यो । युक्रेनलाई उचालेर अन्य शक्तिले लाभ लिए । विश्व शान्ति नै खतरामा पर्यो । एउटा जेलेन्स्कीका लागि अमेरिका जस्तो विश्व शक्ति विश्व युद्ध नै लड्न तयार हुँदै हुँदैन । अमेरिका र रुसको हात मिलिसक्यो । युद्ध र शान्तिको खेती गर्नेहरु जेलेन्स्कीका नाममा कलाकारको शैलीमा भावुक देखिएर नक्कली आँसु खसाल्ने सिवाय केही बाँकी रहेन । आक्रोश देखाउने सिवाय केही रहेन । राजनीतिक भावुकताले होइन निर्मम तरिकाले आफ्नो मार्गमा चलिरहन्छ ।