२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

म्याग्दीको भीरमा सन्तोष बोगटीको हत्याको आशंका, आरोपी जोगाउने चलखेल


0
Shares

काठमाडौं, ६ वैशाख । जापान जाने तयारीमा थिए सन्तोष भनिने कृष्णबहादुर बोगटी । आफूसहित परिवारको सुन्दर सपना देखेका थिए उनले । तर, चैत्रको हुरी जसरी उनी र परिवारको सपना उडाइ लग्यो जब भीरमा शव भेटियो । यो घटना अहिले रहस्यमय बनेको छ

म्याग्दीको बेनी नगरपालिका–१ का थाङ्नेबगरका सन्तोष २९ चैत्रको साँझ सामुदायिक ठुलो रानीबनमा मृत अवस्थामा भेटिएका थिए । उनीसँगै २९ चैत्रमा रत्नेचौर पुगेकासहकर्मी किसान जिसी भनिने कृष्ण घर्तिमगरले सन्तोष भीरमा लडेको खबर आफन्तलाई दिएका थिए ।

सन्तोष र किसान सहकर्मी मात्र होइनन् छिमिकी र मिल्ने साथी पनि हुन् । चैत्र २९ गते बिहीबार उनीहरु साँझ साँढे ५ बजेतिर एउटै मोटरसाइकल चढेर पुगेका थिए रत्नेचौर । दुवै नगरपालिका अन्तर्गत कालिगण्डकीमा बालुवा गिटी निकाल्ने काम गर्दथे । आम्दानी राम्रै थियो ।

घटना भएको दिन दुईजना रत्नेचौरको भाइरल तोरीबारीस्थित बोगटीको होटलमा खाजा खाएर ८ बजेर ३७ मिनेटमा मोटरसाइकल चढेर निस्केका थिए । होटलबाट किसानले बाइक चलाएर बाहिर निस्केको सिसीटिभि फुटेजमा देखिएको सन्तोषका आफन्त बताउँछन् ।

रत्नेचौरबाट बेनी बजार आउन मोटरसाइकलमा जम्मा २५ मिनेट मात्रै लाग्छ । घरमाथि रानीबनको बीचमा पर्ने भिरको जरामा टाउकोमा गहिरो चोट लागेको अवस्थाका सन्तोषको शव फेला परेको थियो । १२ घण्टापछि सन्तोष दुर्घटनामा परेको किसान आफैले जानकारी दिएका थिए ।

सन्तोषकी श्रीमती सुमित्रा मल्ल बोगटीले सँगै गएका किसानविरुद्ध घटनामा किटानी जाहेरी दिएकी छिन् । किसान अहिले प्रहरीको नियन्त्रणमा छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी किरण लामाले शरीरका विभिन्न भागमा चोटपटक लागेका सन्तोषको मृत्यु सम्बन्धमा गहिरो अनुसन्धान चलिरहेको जानकारी दिए । उनले अनुसन्धानमा टेकेर अगाडि बढ्ने बताए ।

किसानले सन्तोषको मृत्युबारे समयमै जानकारी नगराएपछि रहस्य बनेको छ । सन्तोषको परिवार भने किसानसहितले हत्या गरेको आरोप लगाइरहेको छ । चाडो भन्दा चाँडो हत्यामा सम्लग्नलाई सार्वजनिक गर्न माग गरिरहेको छ । निस्पक्ष छानबिन गर्र्नुपर्ने परिवारको माग छ ।

जापान जाने ठिक्क परेका थिए सन्तोष । उनको जापानका लागि भीसा आइसकेको थियो । छोरा सतिश बोगटी पनि अष्ट्रेलिया जान लागेकाले छोरालाई पठाएर आफू जाने तयारीमा थिए । विदेश जाने भएकोले पनि उनी साथीहरुसँग घुमफिर गरी रमाइलो गर्न थालेका थिए । घटनामा सन्तोषको परिवारले किटानी जाहेरी दिएका किसान माओवादी पार्टीमा आवद्ध छन् । घटना घटेको सात दिन बितिसक्दा पनि हत्यारा पत्ता लगाउन नसकेकोमा राजनीतिक दबाब हुन सक्ने सन्तोषका आफन्तले बताए ।

किसानलाई गाउँमा ‘खोडे माइला’ पनि भनेर चिनिन्छ । किसानले विगतमा धेरै व्यक्तिहरुलाई कुटपिट गर्दै आएको स्थानीयहरुले बताए । उनी झगडिया स्वभावका हुनुले पनि आशंका बढाएको छ ।

प्रहरीले घटना हुनुभन्दा अगाडिका प्रत्यक्षदर्शी र अन्यको पनि बयानलाई प्रारम्भिक अनुसन्धान मानेको छ । घटना आसपासका समयमा सडकखण्डमा आवतजावत गर्ने यात्रुले समेत बयान दिइसकेका छन् ।

मदिरामा लठ्ठ भएर मोटरसाइकलमा ल्याउदै गरेका,सो सडकखण्डमा देखिएका अन्य दर्शक, मृतक र आरोपीको रुपमा घटनामा संम्लग्न भनिएका किसानसँग पनि बयानले झन् घटना रहस्यमय बनाउँदै लगेको छ ।

किसानले प्रहरीसँगको बयानमा मोटरसाइकल पल्टिएपछि आफूले मोटरसाइकल लिएर आउँदा बाटोमा नदेखेको र घर बाहिर ल्याएर छोडिदिएको बताएको आफन्तहरु सुनाउँछन् । तर किसानले बयानमा बताएका कुरा सन्तोषका आफन्तहरु पत्याउन तयार छैनन् । बाटोमा मोटरसाइकल बिग्रिएपछि मृतक हेलमेटसँगै पैदलयात्रा मार्फत आउँदै गरेको र मृतकसँगै रहेका किसानले करिब १५ मिनेट पछि मोटरसाइकल लिएर बेनीस्थित घरमा चाबी मोटरसाइकलमै छोडेर हिडेका थिए । उनले सन्तोषको परिवारलाई चाबी पनि दिएनन् र उनको बारेमा जानकारी पनि दिएनन् । रत्नेचौरमा सामान्य झगडा भएको, मृतक सन्तोषले प्रयोग गरेको भनिएको हेलमेट भएको स्थान आसपासमा रहेको ढुंगा आसपासमा कुनै निशान नदेखिएको, मृतकको शव भेटिएको स्थानमा दुबै जुत्ताको लोकेशन फरक रहनुका साथै पछाडी बोकेको झोला सिरानी हालेको अवस्थामा भेटिएको एक आफन्तले बताए । किसानले राती ११ बजेर ४६ मिनेटमा बाइक ल्याएर मृतकको पसल अगाडि छाडेको बेनी नगरपालिकाको सिसी क्यामेरामा देखिएको छ ।

सन्तोष र किसान रत्नेचौरबाट फर्कने क्रममा जंगलमा मोटरसाइकल रोकेर भनाभन गरिरहेको बेला अर्को एउटा मोटरसाइकल पनि आएको थियो । ‘मोटरसाइकलमा सवार बाग्लुङका २ युवाले सन्तोषको बाइक समेत उठाइदिएका थिए । ती युवाहरुलार्ई किसानले गाली गलौज गरेपछि छाडेर गएको बताउँछन् । ‘कसैसँग झगडा नगर्ने स्वभावका उनको हत्या नै  गरिएको हो । आत्महत्या त हुँदै होइन, हत्यामा क–कसको हात छ त्यो चाडै बाहिर ल्याउनुपर्यो,’ एक आफन्तले भने ।

सन्तोषको टाउकोमा गम्भिर चोट लागेको छ भने दाहिने खुट्टा पनि भाँच्चिएको छ । टाउकोबाट आएको रगत नाक र आँखामा लागेको देखिन्छ । शव ओरालोमा घोप्टो मुन्टो लगाएको अवस्थामा भेटिएको स्थानीय बताउँछन् ।

 

प्रतिक्रिया