आधा रकम लिइसकेको चिनियाँ निर्माण कम्पनीले नारायणगढ-बुटवल सडक खण्ड कहिले पूरा गर्ला ?
काठमाडौं, ११ माघ । पश्चिम नेपाललाई जोड्ने मुख्य राजमार्गको नारायणगढ-बुटवल सडकखण्डले यात्रुलाई सास्ती र धुलो दिइरहेको छ । सडकको र्दुदशाका कारण सडकमार्गबाट यात्रा गर्नेहरु हवाई मार्ग नै रोज्छन् या अन्य विकल्प । यसले भारतबाट नेपाल घुम्न आउने तीर्थपर्यटक पनि घटेका छन् ।
नारायणगढ बुटवल सडकखण्डको र्दुदशाका कारण पश्चिम नेपालमा हवाई भाडा बढेको छ । अर्कोतर्फ, भारतबाट नेपाल हवाई यात्रा गर्दा पनि टिकटको मूल्य चर्को छ ।
चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले ठेक्का पाएको यो सडकखण्ड निर्माणमा ६ वर्षमा तीनपटक म्याद थप भइसकेको छ । अझै पनि म्याद थपको योजनामा छ निर्माण कम्पनी । निर्माण प्रगति बल्ल ५० प्रतिशत सकिएको छ । यो रफ्तारमा काम भएमा ठेकेदार कम्पनीले १२ वर्ष लगाएर बल्ल काम सक्ने देखिन्छ ।
ठेकेदार कम्पनीले काममा प्रगति दिन नसक्दा २०७९ को असोजमा आयोजनाले एक महिना सूचना निकालेर ठेक्का तोड्ने चेतावनी दिएको थियो । तर, शक्तिकेन्द्रको प्रभावमा यो कदम बढेन । त्यसपछि म्याद बढ्ने र चेतावनी दिने क्रम चलिरहेको छ ।
पौष भित्र काम ७० प्रतिशत सक्नुपर्ने र चैत्रभित्र एकतर्फी काम सकिसक्नुपर्नेमा प्रगति हुन सकेको छैन ।
झण्डै १७ अर्बमा ठेक्का लागेको यो सडकखण्डमा ठेकेदार कम्पनीले आधाभन्दा बढी रकम भुक्तानी लिइसकेको छ । तर, ठेकेदार कम्पनीले रकम अन्यत्र चलाएर काम बढाएको छैन । निर्माण सामाग्री उदारोमा लिएको कम्पनीले भुक्तानी पनि दिएको छैन । ठेकेदार कम्पनीले अरबौं रकम नदिएर निर्माण सामाग्री उत्पादनकर्ता मारमा परेका छन् ।
कामदारले पनि ज्याला नियमित नपाउँदा समस्या भोगिरहेका छन् । यसले आक्रोश पैदा भएको छ । निर्माण कम्पनीले लामो समय काम रोकेर फेरि थालेको छ । यो पनि देखाउनका लागि मात्र जस्तो भएको छ ।