भारतमा रेल र्दुघटनामा मृत्यु हुने ७ नेपाली को को
काठमाडौं, ११ माघ । भारतमा भएको रेल र्दुघटनामा मृत्यु भएका १३ जनामध्ये ७ जना नेपाली नागरिक रहेको खुलेको छ । उनीहरुमध्ये ४ जनाको पहिचान खुलिसकेको छ ।
मृत्यु हुनेमा नन्दराम विक, मैसरा विक, हिमु विक र जयकला कामी अछामका हुन् । नन्दराम र मैसरा दम्पत्ति र हिमु उनीहरुका छोरा हुन् । कैलालीका कमला भण्डारी, बाँकेका राधेश्याम राध र लच्छिराम पासी छन् ।
घाइते नेपालीमध्ये अछामका हजला सावन्त र धर्मबहादुर सावन्तका अलावा दैलेखका दिपक थापा र मञ्जु परियारको उपचार भइरहेको छ ।
मृतक र घाइतेहरु मुम्बईमा कामको सिलसिलामा जाँदै थिए । बुधबार साँझ लखनऊबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेको गलत हल्लाले यात्रुहरु भागेका थिए । भाग्ने क्रममा विपरित दिशामा आएको कर्नाटक एक्सप्रेस रेलको ठक्करले उनीहरुको मृत्यु भएको थियो ।
घटनाको प्रारम्भिक अनुसन्धानबाट रेलको लिक र पांग्राको घर्षणबाट धुँवा निस्किएको थियो । त्यसपछि आगलागीको गलत हल्लाका कारण यात्रुहरु भागेका थिए ।