बँगलादेशले भारतलाई विद्युतको पैसा तिरेन, नेपालको के होला ?
काठमाडौं, ५ पौष । बँगलादेशलाई नेपालले विद्युत बेचेर २०२४ मा ४० लाख आम्दानी गरेको छ । भारतको भूमि हुँदै नेपालले बँगलादेशलाई विद्युत बेचेको हो । अब अर्को सिजनमा पनि बेच्ने योजना रहेको छ । तर, बँगलादेशले नेपाललाई विद्युतको रकम तिर्ला ? चासो बनेको छ ।
बँगलादेशलाई भारतका अर्बपति गौतम अडानीले विद्युत आपूर्ति गर्दै आएका छन् । झारखण्डमा रहेको उनको प्लान्टको उत्पादनमध्ये बँगलादेशलाई सयौं मेगावाट विद्युत आपूर्ति हुन्छ । यसबाट अडानीले महिनामै अरबौं आम्दानी गर्छन् । तर, मोहम्मद युनुस नेतृत्वको सरकार आएपछि बँगलादेशसँग भारतको सम्बन्ध बिग्रिएको छ ।
अडानीले विद्युत नै कटौती गरेका छन् । बँगलादेशले अरबौं रकम नतिरेपछि अडानीको प्लान्टबाट विद्युत आपूर्ति नै घटेको हो । बँगलादेशले पनि माग कम भएको भन्दै आपूर्ति घटाएको छ । तर, बँगलादेशमा लोडसेडिङ चलिरहेको छ अहिले ।
बँगलादेशमा गार्मेन्ट कम्पनीहरु धमाधम बन्द हुँदा पनि माग घटेको छ विद्युतको । तर, उक्त देश आर्थिक रुपमा जर्जर हुँदै गएको छ ।
शेख हसिना देश छाडेर गएपछि युनुस नेतृत्वको सरकार छ । तर, उक्त सरकारले बँगलादेशलाई सम्हाल्न सकिरहेको छैन ।