३ आश्विन २०८१, बिहिबार | September 19, 2024

किन भकुण्डो बनाइए सचिव मधुसुदन


September 13, 2024
664
Shares

काठमाडौं, २८ भाद्र । देशमा मालदार ठाउँमा सरुवा हुन कर्मचारीले भेटी नबुझाई नहुने अवस्था भइसकेको छ । कुनै दलका शक्तिशाली नेताको विश्वास जितेको या संगठित गिरोहको लगानीमा घूस खुवाएर मात्र मालदार अड्डामा पुग्ने हालतले कर्मचारीतन्त्र चरम बेथिती र भ्रष्टाचारले थिलथिलो भइसकेको छ । यस्तो पनि भइसकेको छ कि केही सचिव त केही महिनाबीच सरुवा भइरहन्छन् । उनीहरु जान नचाहेको अड्डामा पुग्न वाध्य हुन्छन् ।

नेपाल सरकारका एकजना सचिव मधुसुदन बुर्लाकोटीको त सरुवाको किर्तिमान नै तोडिइसकेको छ । उनी एक या दुई महिनामा सरुवा भइरहन्छन् । उपराष्ट्रपति कार्यालयबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेपछि सचिव मधुसुदन बुर्लाकोटी ‘भकुण्डो’ बनाइएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेको दुई महिना पनि नभई सचिव बुर्लाकोटी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा पुऱ्याइए। त्यसको दुई महिनापछि वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका उनी डेढ महिना पनि नपुगी राष्ट्रिय तथ्याङ्क कार्यालय फ्यालिएका छन्।

नेपाल आयल निगमको थानकोट डिपो नुवाकोट सार्ने विषयमा कुरा नमिलेपछि सचिव बुर्लाकोटी सरूवामा परेका हुन् । यसमा ठूलै चलखेल गर्न खोजिएको छ।

हक्की स्वभावका भएकाले सचिव बुर्लाकोटीलाई ‘भकुण्डो’ बनाइएका हुन् । सचिव जस्तो गरिमामय पदमा बसेका व्यक्तिलाई ‘भकुण्डो’ बनाउँदा प्रशासनिक अस्थिरता निम्तिएको छ। अनुभवप्राप्त कर्मचारीबाट राज्यले लाभ लिन सक्दैन। व्यक्तिको आत्मबल गिर्छ। तर सरकारले यो विषयमा खासै ध्यान दिएको देखिँदैन। यसलाई सरकारको प्रशासनिक बेथितिको रूपमा लिन सकिन्छ।

२०७८ असारमा सचिवमा बढुवा मधुसुदन बुर्लाकोटीलाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन भएका थिए। सुदूरपश्चिम प्रदेशका प्रमुख सचिवबाट बुर्लाकोटी ६ महिनामै २०७८ पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएका थिए। प्रधानमन्त्री कार्यालयमा डेढ महिना पनि नबसी सचिव बुर्लाकोटी २०७८ फागुनमा सार्वजनिक खरिद अनुगमन कार्यालय पुगेका थिए। सार्वजनिक खरिद अनुगमन कार्यालयमा भने सचिव बुर्लाकोटी डेढ वर्ष बसे।

सार्वजनिक खरिद अनुगमन कार्यालयबाट सचिव बुर्लाकोटी २०८० साउनमा उपराष्ट्रपति कार्यालय सरूवा भएका थिए। उपराष्ट्रपति कार्यालयमा ८ महिना बसेपछि २०८० चैतमा उनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगे। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगेको दुई महिना पनि नपुगी सचिव बुर्लाकोटी २०८१ जेठ राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा फ्यालिए। वित्त आयोगमा थन्क्याएको डेढ महिनापछि उनी फेरि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव भएर गए। तर त्यहाँ पनि उनी डेढ महिना पनि टिकेनन्। २०८१ साउन १४ वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव बनेर गएका बुर्लाकोटी २०८१ भदौ नबित्दै राष्ट्रिय तथ्याङ्क कार्यालय पुगेका हुन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी गोकर्णमणि दुवाडी गृहसचिव भएर गएपछि उक्त ठाउँमा बुर्लाकोटीको सरुवा गरिएको छ। दुवाडी र बुर्लाकोटी दुबै जना धादिङका हुन्। बुर्लाकोटी मन्त्रालयमा नटिक्ने सचिवमा परेका छन्। दुवाडी भने मालदार मानिएको गृहमा पुगेका छन् ।

प्रतिक्रिया