६ आश्विन २०८१, आइतबार | September 22, 2024

सत्ता संघर्ष र काण्डै काण्डको वर्ष बन्यो २०८०


249
Shares

काठमाडौं, ३० चैत्र । २०८० साललाई बिदा गरी २०८१ मा प्रवेश गर्दैछ नेपाली समाज । विश्वमा विक्रम संवत्लाई आधिकारिक रुपमा मान्ने एकमात्र देश नेपालको पृथक महत्व यसकारण पनि छ । तर, यस्ता पृथकतालाई नामेट पार्ने योजनावद्ध गतिविधि भइरहेको छ । यसमा राजनीतिक दलका प्रभावशाली नेता नै गोटी बनिरहेका छन् ।

देशमा २०८० भर सत्ता संघर्ष चलिरह्यो । केन्द्र देखि प्रदेशसम्म सत्ता संघर्षले अस्वस्थ राजनीतिलाई प्रश्रय दियो । प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धन नै बदले यो वर्ष । जसको सिधा असर प्रदेशमा पनि पर्यो ।

प्रदेशहरुमा सत्ता ढाल्ने र बनाउने खेलहरु भए । आपराधिक पृष्ठभूमिबाट उदाएका दिपक मनाङे पटक पटक गण्डकी प्रदेशको मन्त्री बने ।

२०८० भर देशमा ठूला काण्डहरु भए । भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने गिरोहका नाइके र सदस्यहरु जेल गए । ललिता निवास प्रकरणबारे महत्वपूर्ण फैसला आयो ।

बाँसबारी छाला जुत्ता कारखानको जग्गा हडपेको अभियोगमा चौधरी ग्रुपका दाजुभाईहरु छानविनमा परे । अरुण चौधरी त हिरासतमा परे । विनोद चौधरी र वसन्त चौधरीसँग सीआइबीले बयान लियो ।

सुनकाण्ड चर्चामा पुग्यो । सुनकाण्डमा प्रहरीमाथि नै कारबाही भयो ।

सबैभन्दा बढी सरकारी र सार्वजनिक जग्गा हडप्ने काण्डहरु बाहिर आयो । झापाको गिरीबन्धु टी स्टेटको जग्गा हडप्ने गतिविधिविरुद्ध अदालतले महत्वपूर्ण फैसला सुनायो । मन्त्रिपरिषद्को निर्णय नै बदर गरिदियो ।

छायाँ सेन्टर बनेको ठमेलस्थित कमलपोखरीको जग्गाको २६ रोपनी खोज्न अदालतले आदेश दिएको छ । योसँगै छायाँ सेन्टर भत्कने सम्भावना बढेको छ ।

देशमा यो वर्ष एनसेल काण्ड चर्चामा आयो । देशलाई दशौं अर्ब नोक्शानी पर्ने गरी एनसेलको शेयर खरिद विक्री भयो । यो काण्डमा देशका शीर्ष नेता देखि नाम चलेका व्यापारी नै संलग्न रहेको खुलेको छ । यसलाई सामसुम पार्ने प्रयास चलिरहेको छ ।

टेलिकम माफियासँग प्रधानमन्त्री प्रचण्ड र उनीनिकट व्यापारीको साँठगाँठबारे विदेशी पत्रकारले कुकुल्यान्ड नामक पुस्तक लेखेर खुलासा गरिदिए । यसले नेपालमा माफियाको जालोबारे सनसनीपूर्ण खुलासाहरु भए ।

प्रतिक्रिया