४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

सार्वजनिक र सरकारी जग्गा हडप्नेहरु भागाभाग


664
Shares

काठमाडौं, १६ चैत्र । राजनीतिक पहुँच र प्रभाव बनाएर जोगिदै आएका सरकारी र सार्वजनिक जग्गा हडप्नेहरुको भागाभाग हुन थालेको छ । यसबारे नेपाली पेन डट कमले निरन्तर खोज खबर प्रकाशित गरेपछि जग्गा हडप्नेहरु भागाभाग भइरहेको छ ।

सार्वजनिक र सरकारी जग्गा हडप्नेलाई पक्राउ गर्ने दबाब सरकार माथि बढिरहेको छ । कुनै हालतमा उनीहरुले जग्गा हडपेको विषयमा प्रमाण पुर्याउन नसक्ने अवस्था भएपछि अदालत र प्रशासनलाई प्रभावमा पार्ने प्रयास गरिरहेका छन् । तर, यसबारे धेरै तथ्य खुलेपछि अदालत र कर्मचारीहरु पनि दबाबमा परेका छन् ।

सरकारले जग्गा फिर्ता ल्याउन थालेको छ । ललिता निवास, गिरीबन्धु, टीकापुर लगायतको जग्गा फिर्ता आइसकेको छ । अब चाँडै हरिसिद्धि, छायाँ सेन्टरलगायतको स्थानमा पनि जग्गा फिर्ता आउने भएको छ ।

यद्यपि, भूमाफियाहरुले आफू जोगिन राजनीतिक आवरण ओढेको भेटिन थालेको छ । उनीहरु विगतमा राजनीतिक दलमा सामेल भइरहेको र नभए पनि पसिसकेको भेटिएको छ । यो भूमाफियाको राजनीतिक उन्मुक्ति पाउने नियत रहेको देखिएको छ । पछिल्लो समय सार्वजनिक र सरकारी जग्गा हडप्नेहरु धमाधम पक्राउ पर्न थालेपछि लहरो तान्दा पहरो गर्जिएको छ । सर्वसाधारणले सार्वजनिक जग्गामा निकै चासो राखेपछि सरकार नै दबाबमा परेको छ । अहिले जग्गा हडप्ने भूमाफियाहरु पक्राउ पर्ने डरले राजनीतिक खोल पनि ओढ्न थालेका छन् । उनीहरु कारबाहीबाट बच्न यस्तो रणनीति अपनाइरहेका हुन् ।

हालैमात्र बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले शुक्रबार सरकारीकरणको निर्णय लिएको हो । बाँसबारी छाला जुत्ता कम्पनीको १० रोपनी जग्गा अतिक्रमण गरिएको थियो । सरकारी जग्गा २०४४ सालको भदौ र मंसिरमा गरी च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो । उक्त जग्गामा चाँदवाग स्कुल सञ्चालन गरिएको छ । तर, यो प्रकरणले चौधरी परिवारका केही पक्राउ परे भने केहीमाथि बयान लिइएको छ ।

बाँसबारी जस्तै हरिसिद्धि ईट्टा तथा टायल कारखानाको जग्गा पनि हडपिएको छ । उक्त जग्गा पनि सरकारले फिर्ता ल्याउने पहल हुने बुझिएको छ । ललिता निवासको जग्गा फिर्ता ल्याइसकिएको छ । विभिन्न ठाउँका हडपिएका जग्गा पनि फिर्ता ल्याइसकिएको छ । सार्वजनिक पोखरीको जग्गा नै हडपेर छायाँ सेन्टर बनाइएको छ । छायाँ सेन्टर बनाउने गिरोह विभिन्न राजनीतिक दलमा आवद्ध छन् । उनीहरु राजनीतिक खोल ओढेर सबै दलमा छरिएका छन् । रास्वपामा छायाँ सेन्टरका माकेटिङ प्रमुख सुमनविक्रम पाँडे पसेका छन् । उनी नुवाकोटबाट उम्मेदवार पनि बने । रोचक त यो छ कि सुमनविक्रम रहेको छायाँ सेन्टरमा नुवाकोटकै काँग्रेस नेता डा. रामशरण महतको पनि लगानी रहेको छ । महतले नै सुमनविक्रमलाई उम्मेदवार बनाएका थिए ।

झापाको गिरीबन्धु टी स्टेटको जग्गा हडप्न एमालेका नेताहरु नै लागेको खुलिसकेको छ । तत्कालीन भूमिसुधार मन्त्री देखि कर्मचारी समेत प्रभावित बनाएर भूमाफियाले क्याबिनेटबाट निर्णय गर्न लगाएका छन् । यसमा जग्गा प्लटिङ गरी बेच्ने नियत पाइएको छ । यो गतिविधिमा एकजना नाम चलेका व्यापारी नै संलग्न पाइए ।

प्रतिक्रिया