६ आश्विन २०८१, आइतबार | September 23, 2024

नारी दिवसमा मेनुका पौडेल सम्मानित


830
Shares

काठमाडौं, २४ फागुन । लाकप्रीय गायिका मेनका पौडेल सम्मानित भएकी छिन् । अन्तर्राष्ट्रिय नारी दिवसमा उनलाई काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा आयोजित कार्यक्रममा सम्मान गरेको हो ।

माइती नेपालको प्रांगणमा आयोजित कार्यक्रममा कार्यक्रमकी प्रमुख अतिथि प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य र भारतीय राजदूतवासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले मेनका पौडेललाई सम्मान गरेका हुन् । उनीहरुले रत्न कुमारी सुनुवारलाई पनि सम्मान गरे ।

काठमाडौंकी मेनुका पौडेलले आफ्नो गायन प्रतिभाको माध्यमबाट नेपाल र भारतमा पछिल्लो समय इन्डियन आइडल २०२३ मा प्रशंसा बटुल्न सफल भएकी थिइन् । रत्न कुमारी सुनुवारले ८० वर्षको उमेरमा गत वर्ष कक्षा १२ उत्तीर्ण गरेपछि अध्ययनमा उमेरले कुनै बाधा नपार्ने रहेछ भन्ने सन्देश दिएकी थिइन् । सो अवसरमा भारतीय राजदूतावासले माइती नेपालका विद्यार्थीहरुलाई उपहार स्वरुप पुस्तक प्रदान गरेको थियो ।

भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा काठमाडौंका महिला वाद्यवादकहरुले सांगीतिक प्रस्तुति र माइती नेपालका छात्राहरुले सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । मेनुका पौडेलले पनि सुमधुर गीतहरु गाएर दर्शकलाई मोहित बनाएकी थिइन् ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, सामाजिक संघसंस्थाका प्रतिनिधि, माइती नेपालका छात्राहरु लगायत विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाहरुको सहभागिता रहेको थियो ।

प्रथम महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले भारत र नेपालबीच रहेको विशिष्ट सम्बन्धको महत्वमाथि प्रकाश पार्दै नेपालमा महिला सशक्तिकरणका लागि बृहत्तर सामूहिक प्रयासको आवश्यकता रहेको बताइन् ।

कार्यक्रममा बोल्दै भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले नारी दिवसको महत्वमाथि प्रकाश पार्दै माइती नेपालले नेपाली महिलाको हित र समृद्धिका लागि गरेको अथक प्रयासको प्रशंसा गरे । सन् २०१७ मा भारत सरकारले कोइरालालाई प्रतिष्ठित ‘पद्मश्री’ पुरस्कारबाट सम्मानित गरेको उल्लेख गर्दै यस क्षेत्रमा पुर्याएको प्रयासलाई भारत सरकारले पनि कदर गरेको बताए ।

माइती नेपालकी संस्थापक अनुराधा कोइरालाले माइती नेपालले गर्दै आएको पहल एवम् बृहत कार्यक्रम बारे जानकारी गराइन् ।

 

प्रतिक्रिया