२५ भदौ २०८३, बिहिबार | September 10, 2026

किन जादैछ देउवा समूह फेरी सर्वोच्च ?


August 19, 2026
996
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालत जाने तयारीमा जुटेको छ।

पार्टीको केन्द्रीय समिति बैठकले महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेपछि देउवा समूहले त्यसविरुद्ध कानुनी बाटो रोज्ने तयारी गरेको हो। सर्वोच्च अदालतमा पार्टीसम्बन्धी मुद्दा विचाराधीन रहेकाले त्यसको टुंगो नलागेसम्म महाधिवेशन प्रक्रिया अघि बढाउन नमिल्ने देउवा पक्षको दाबी छ।

नेता मीन विश्वकर्माका अनुसार महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा जाने तयारी भइरहेको छ। उनले सम्भव भएसम्म बुधबार नै अदालत जाने र नभए एक–दुई दिनभित्र मुद्दा दायर गरिने जानकारी दिएका छन्।

यसअघि देउवा समूहको भेलाले वर्तमान सभापति गगन थापालाई अस्वीकार गर्दै १५औँ महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा गर्नुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयपछि कांग्रेसभित्र महाधिवेशनको नेतृत्व र प्रक्रियालाई लिएर विवाद थप चर्किएको छ।

यसैबीच इतर पक्षका नेता डा। शशांक कोइरालाले पनि महाधिवेशन प्रक्रिया अघि नबढाउन निर्वाचन आयोग र कांग्रेस केन्द्रीय कार्यालय सानेपालाई पत्र पठाइसकेका छन्।

तर सभापति गगन थापा भने निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने अडानमा छन्। असन्तुष्ट पक्षलाई समेट्ने प्रयासस्वरूप उनले यसअघि महाधिवेशन कार्यतालिका केही पछि धकेलेका थिए।

अब देउवा समूह सर्वोच्च पुगेमा कांग्रेसको महाधिवेशन प्रक्रिया थप कानुनी र राजनीतिक विवादमा फस्ने सम्भावना बढेको छ।

प्रतिक्रिया