२१ बैशाख २०८३, सोमबार | May 4, 2026

राष्ट्रको मेरुदण्डमाथि आक्षेप कि सुनियोजित प्रहार ?


996
Shares

नेपाली सेनालाई कमजोर पार्ने खेलबारे गम्भीर प्रश्न

  • नेपाली सेना राष्ट्रको सुरक्षा, स्वाधीनता र स्थायित्वको प्रमुख आधार भएकाले आधारहीन आरोप र राजनीतिक स्वार्थका लागि संस्थामाथि प्रहार गर्नु राष्ट्रहितविपरीत हुने लेखकको निष्कर्ष छ।
  • सुरक्षा निकायमाथिको आलोचना तथ्य, अध्ययन र जिम्मेवारीबोधका साथ हुनुपर्ने तथा सेनाको सुदृढीकरण र आधुनिकीकरणमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

प्रकाश रायमाझी । नेपाली सेनाबारे विभिन्न कोणबाट हुने टिप्पणीहरूलाई गम्भीर रूपमा हेर्नुपर्छ । यस्ता टिप्पणीहरू कतिपय अवस्थामा राष्ट्रिय शक्तिलाई कमजोर बनाउने प्रयत्नका रूपमा पनि देखिन सक्छन् । राष्ट्रको विरासत धानेको सेनामाथि दरबार हत्याकाण्डजस्ता घटनामा मिथ्या आक्षेप दोहोर्‍याइरहनु उचित होइन । यस्ता आरोपहरूको पृष्ठभूमि र उद्देश्यबारे स्पष्टता ल्याउन सम्बन्धित निकायहरू गम्भीर हुन जरुरी छ । प्रश्न उठ्छ—के परिचालित व्यक्तिहरूले नेपालको राष्ट्रिय सेनालाई कमजोर पार्दै वैदेशिक प्रभावलाई अप्रत्यक्ष रूपमा आमन्त्रण गरिरहेका छन् ?

जेन्जी आन्दोलनको भयावह अवस्थामासमेत सेनाले देखाएको संयम, साहस र संस्थागत बुद्धिमत्तालाई निष्पक्ष रूपमा मूल्याङ्कन गर्नुपर्छ । त्यस समयमा देश अराजकताको किनारमा पुगेको थियो । यदि सेना संयमित ढंगले अघि नबढेको भए परिस्थिति गृहयुद्धतर्फ धकेलिन सक्थ्यो । त्यस्तो अवस्थामा बाह्य शक्तिहरू सक्रिय हुने जोखिम पनि उच्च हुन्थ्यो । त्यसैले त्यो समयको व्यवस्थापनलाई केवल आलोचनाको दृष्टिले होइन, समग्र सन्दर्भमा बुझ्नुपर्छ ।

राजनीतिक दलहरूका विकृति र विसंगतिहरू चुलिँदै जाँदा जनआक्रोश विस्फोट हुनु अस्वाभाविक थिएन । कुशासन, भ्रष्टाचार र जनभावनाको बेवास्ताले विद्रोहको वातावरण सिर्जना गरेको थियो । तर त्यसको सम्पूर्ण दोष सुरक्षा निकायमाथि थोपर्नु तथ्यसम्मत हुँदैन । तत्कालीन अवस्थाको जटिलता बुझेर मात्र निष्कर्ष निकाल्नुपर्छ । आज शान्त परिस्थितिमा बसेर सेनामाथि आरोप लगाउनेहरूले त्यसबेला उत्पन्न संकटको गहिराइलाई बेवास्ता गर्नु उपयुक्त होइन ।

गौरवशाली इतिहास बोकेको नेपाली सेनालाई कमजोर बनाउने वा लाञ्छित गर्ने प्रवृत्ति राष्ट्रहितमा छैन । सेनाले देशको स्वाधीनता, भू-सम्प्रभुता र राष्ट्रिय एकतालाई जोगाउन दीर्घकालीन योगदान दिएको छ । कठिन परिस्थितिमा समेत खटिने यो संगठनप्रति अनावश्यक र आधारहीन आरोप लगाउनु उचित होइन । आलोचना गर्नै परे तथ्य, अध्ययन र जिम्मेवार ढंगले गर्नुपर्छ ।

नेपाली सेना केवल सुरक्षा निकाय मात्र होइन, राष्ट्रिय स्थायित्वको एक महत्वपूर्ण आधार हो । अन्तर्राष्ट्रिय शान्ति मिसनदेखि देशभित्रका विपद् व्यवस्थापनसम्म सेनाले प्रभावकारी भूमिका निर्वाह गरेको छ । आन्तरिक शान्ति कायम राख्न अन्य सुरक्षा निकायसँग सहकार्य गर्नु सेनाको जिम्मेवारी पनि हो । सीमा सुरक्षाको विषयमा पनि सैन्य संरचना र रणनीति अनुसार भूमिका निर्धारण हुने भएकाले सतही टिप्पणी गर्नु उपयुक्त हुँदैन ।

सेनाको आधुनिकीकरण, स्रोतसाधनको व्यवस्थापन र आत्मनिर्भरता आजको आवश्यकता हो । आवश्यक सामग्री स्वदेशमै उत्पादन गर्ने, तालिम र प्रविधिमा लगानी बढाउने र संगठनलाई समयानुकूल बनाउनेतर्फ राज्यले प्राथमिकता दिनुपर्छ । वर्षौंको अनुशासन, तालिम र संस्थागत विकासबाट बनेको सेनालाई क्षणिक राजनीतिक विवादमा तान्ने प्रयास दुर्भाग्यपूर्ण हुन्छ ।

सुरक्षा, कूटनीति र राष्ट्रिय स्वार्थका जटिल आयामहरू सेनाले गहिराइमा अध्ययन गरिरहेको हुन्छ । त्यसैले बिना अध्ययन गरिएका टिप्पणीहरूले भ्रम सिर्जना मात्र गर्छन् । राजनीतिक अस्थिरता र आन्तरिक सुरक्षा चुनौती बढेका बेला सेनाको भूमिका अझ सुदृढ र सन्तुलित हुन आवश्यक हुन्छ । अन्ततः, राष्ट्रिय हितलाई केन्द्रमा राखेर सेनाप्रति सम्मान, जिम्मेवार आलोचना र सुदृढीकरणतर्फ ध्यान दिनु नै उपयुक्त मार्ग हो । सबैलाई चेतना भया ।
लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।

प्रतिक्रिया