गृहमन्त्रीमा सुदन गुरुङ फाइनल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह नेतृत्वमा बन्न लागेको नयाँ सरकारको प्रारम्भिक मन्त्रिपरिषद् लगभग टुंगिएको छ। सरकार गठनको तयारी तीव्र भइरहेका बेला चार महत्वपूर्ण मन्त्रालयका मन्त्रीहरू फाइनल गरिएको स्रोतले जनाएको छ।
सरकारको सबैभन्दा शक्तिशाली मानिने गृह मन्त्रालयको जिम्मेवारी अन्ततः सुदन गुरुङ लाई दिइएको छ। लामो समयसम्म चलेको आन्तरिक रस्साकस्सीपछि गुरुङको नाममा सहमति जुटेको हो। ‘जेनजी आन्दोलन’ पछि चर्चामा आएका गुरुङले गृहमन्त्री बन्ने अडान नछोडेपछि अन्ततः शीर्ष नेतृत्व नै लचक भएको बुझिएको छ।
यसअघि रास्वपा सभापति रवि लामिछाने ले उपसभापति डीपी अर्याललाई उक्त जिम्मेवारी दिन चाहेका थिए भने बालेन्द्र साहले सुनील लम्साललाई अघि सारेका थिए। तर अन्तिममा गुरुङकै पक्षमा निर्णय भएको हो।
त्यस्तै, अर्थ मन्त्रालयको नेतृत्व स्वर्णिम वाग्ले ले सम्हाल्ने भएका छन् भने परराष्ट्रमन्त्रीमा शिशिर खनाल र कानूनमन्त्रीमा सोविता गौतम लाई जिम्मेवारी दिइने निश्चित भएको छ।
नयाँ सरकारप्रति जनताको उच्च अपेक्षा रहेको छ। विशेषगरी सुशासन, आर्थिक सुधार र प्रभावकारी सेवा प्रवाहमा कस्तो प्रदर्शन हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।


