१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

मातृभाषाको सम्मान बढ्दैः ६३ सांसदले नेपालीबाहेक भाषामा शपथ लिँदै


0
Shares

काठमाडौं, १२ चैत। संघीय संसद्‌मा भाषिक विविधताको सुन्दर झलक देखिने भएको छ। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूमध्ये ६३ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने भएका छन्।

संघीय संसद् सचिवालयका अनुसार यी सांसदहरूले इमेल तथा प्रत्यक्ष उपस्थित भएर मातृभाषामा शपथ लिने जानकारी गराएका हुन्। प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज दिउँसो २ बजे हुने तय भएको छ, जसलाई ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गराउनेछन्।

शपथ ग्रहणअघि सांसदहरूलाई आवश्यक कागजातसहित निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।

नेपालमा भाषिक पहिचान र समावेशीताको अभ्यास क्रमशः बलियो बन्दै गएको देखिन्छ। २०६३ को अन्तरिम संसद्मा ५८ जनाले मातृभाषामा शपथ लिएका थिए भने २०६४ को संविधानसभामा यो संख्या उकालो लाग्दै २६४ पुगेको थियो।

त्यसयता पनि यो प्रवृत्ति निरन्तर देखिएको छ—२०७० मा ३५, २०७४ मा ४६ र २०७९ मा २८ सांसदले मातृभाषामा शपथ लिएका थिए। यसपटक फेरि संख्या बढ्दै ६३ पुग्नुले भाषिक विविधताको सम्मान र समावेशी लोकतन्त्रप्रतिको प्रतिबद्धता झन् बलियो भएको संकेत गर्दछ।

मैथिलीदेखि शेर्पा, तामाङदेखि थारूसम्म विभिन्न भाषामा शपथ लिने तयारीले संसद्‌लाई अझ प्रतिनिधिमूलक र समावेशी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया