१० चैत्र २०८२, मंगलबार | March 24, 2026

राजीनामा अस्वीकृत भएपछि गगन थापा आक्रामकः ‘यो हतास निर्णय होइन’


83
Shares

काठमाडौं,१० चैत्र। गगन थापा नेतृत्वको नेपाली कांग्रेस भित्र राजीनामा प्रकरणले नयाँ बहस जन्माएको छ। सभापति थापाले आफूले हतार वा हतासमा होइन, पार्टीको विधानअनुसार नै उपसभापतिलाई राजीनामा दिएको स्पष्ट पारेका छन्।

तर केन्द्रीय समितिबाट उक्त राजीनामा अस्वीकृत भएपछि पार्टीभित्रको आन्तरिक राजनीति थप चर्किएको देखिन्छ।

केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै थापाले आफ्नो निर्णय सोचविचार गरेर लिएको दाबी गरे। उनले विशेष महाधिवेशन नगरी चुनावमा गएको भए पार्टीले अझ ठूलो चुनौती सामना गर्नुपर्ने तर्क राखे।

“हामीले परिस्थितिको मूल्याङ्कन गरेरै निर्णय लिएका हौँ,” उनले भने, “तर जो उम्मेदवारका लागि मत माग्न वा मतदान गर्न नै आएनन्, उनीहरूले अहिलेको अवस्थाको अनुमान गर्न सकेनन्।”

थापाले विशेष महाधिवेशन गर्ने निर्णयलाई सही ठहर गर्दै यसलाई कमजोरीको रूपमा व्याख्या गर्नु गलत भएको जिकिर गरे। उनले पार्टीभित्रको आलोचनालाई अप्रत्यक्ष रूपमा लक्षित गर्दै नेतृत्वले लिएको कदमलाई समर्थन गर्नुपर्ने धारणा राखे।

राजीनामा अस्वीकृत भएसँगै नेपाली कांग्रेस भित्र नेतृत्व, रणनीति र जिम्मेवारीबारे बहस अझै तीव्र हुने संकेत देखिएको छ। अब पार्टीले आगामी राजनीतिक दिशा कसरी तय गर्छ भन्ने चासो बढ्दो छ।

प्रतिक्रिया