भोटेबहालमा बसको ठक्करः दुई पैदल यात्रुको ज्यान गयो, चालक पक्राउ
काठमाडौं, ७ चैत्र । काठमाडौं महानगरपालिका–१२, भोटेबहालमा बसको ठक्करबाट दुई जना पैदल यात्रुको ज्यान गएको छ। मृत्यु हुनेमा टेकुमा बस्दै आएका भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिसकुमार कुसवाह रहेका छन्।
शुक्रबार साँझ कालिमाटीबाट त्रिपुरेश्वरतर्फ जाँदै गरेको प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए। उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बस चालक दोलखा घर भई हाल कपन बस्दै आएका ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे प्रहरी वृत्त कालिमाटीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
राजधानीमै भइरहेको यस्ता दुर्घटनाले सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।


