५ चैत्र २०८२, बिहिबार | March 19, 2026

हारको जिम्मा एक्लै होइन : गगनको राजीनामा अस्वीकृत गर्ने तयारी


498
Shares

काठमाडौं । गगन कुमार थापाले सभापति पदबाट दिएको राजीनामा नेपाली कांग्रेसभित्रै अस्वीकृत गर्ने तयारी भएको छ । शुक्रबार बस्ने केन्द्रीय कार्यसमिति बैठकमा उक्त राजीनामा अस्वीकृत गर्ने प्रस्ताव औपचारिक रूपमा पेस गरिने भएको हो ।

२१ फागुनको निर्वाचनमा व्यहोरेको पराजयको नैतिक जिम्मेवारी लिँदै थापाले उपसभापति विश्वप्रकाश शर्मा समक्ष बुधबार राजीनामा बुझाएका थिए । तर, पार्टीभित्र उनको राजीनामा स्वीकार नगर्ने सहमति जस्तो माहोल देखिएको छ ।

शुक्रबारको बैठकमा थापा स्वयं सहभागी नहुने बताइएको छ । त्यसैले बैठकको अध्यक्षता उपसभापति शर्मा स्वयंले गर्नेछन् । बैठकमा उनले थापाको राजीनामा सम्बन्धी औपचारिक जानकारी गराउँदै त्यसलाई अस्वीकृत गर्ने प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेका छन् ।

पार्टी स्रोतका अनुसार, प्रस्तावसँगै निर्वाचनमा पराजयको जिम्मा एक व्यक्तिमाथि मात्र नथोपर्ने सन्देश दिइनेछ । विशेष महाधिवेशनबाट आएको नेतृत्वले छोटो तयारीमै चुनावमा होमिनुपरेको, संगठनात्मक चुनौती र समग्र परिस्थितिलाई कारणका रूपमा प्रस्तुत गरिनेछ ।

कांग्रेसभित्र अहिले नेतृत्व जोगाउने र सामूहिक जिम्मेवारी स्वीकार गर्ने रणनीति अघि सारिएको बुझिएको छ । यसले थापाको राजनीतिक भूमिकालाई जोगाउने मात्र होइन, पार्टीभित्र एकता कायम राख्ने संकेत पनि दिएको विश्लेषण गरिएको छ ।

प्रतिक्रिया