१ चैत्र २०८२, आइतबार | March 15, 2026

राउन्डमा नआएपछि खोजी गर्दा डाक्टर अचेत भेटिए, सेनाको हेलिकप्टरबाट उद्धार


0
Shares

१ चैत, काठमाडौं । सल्यान जिल्ला अस्पताल मा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेका छन्। उनलाई थप उपचारका लागि नेपाली सेना को हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ।

अस्पतालमा कार्यरत ३७ वर्षीय चिकित्सक बुद्धिनाथ शाह अचेत अवस्थामा भेटिएपछि प्राथमिक उपचारपछि हेलिकप्टरबाट सुर्खेत पठाइएको हो। उनी विगत दुई वर्षदेखि जिल्ला अस्पताल सल्यानमा एमडीजीपी चिकित्सकका रूपमा कार्यरत रहेको अस्पताल स्रोतले जनाएको छ। उनको स्थायी घर महोत्तरी जिल्ला मा रहेको बताइएको छ।

अस्पतालका अनुसार बिहान नियमित राउन्डमा नआएपछि सहकर्मीहरूले उनको खोजी सुरु गरेका थिए। खोजीका क्रममा अस्पताल परिसरभित्र निर्माणाधीन भवन नजिकै बिहान करिब ९ः४५ बजे उनी अचेत अवस्थामा फेला परेका थिए।

घटनास्थलमा “ओपी कम्पाउन्ड” नामक विषादीको बोतल पनि भेटिएको अस्पतालले जनाएको छ। प्रारम्भिक जानकारीअनुसार करिब २०० एमएल विषादी प्रयोग भएको देखिएको छ। डाक्टर शाह राति करिब १२ः४४ बजे खाना खाएर सुत्न गएको बताइएको छ।

अचेत अवस्थामा फेला परेपछि उनलाई तत्काल सल्यान जिल्ला अस्पताल मै प्राथमिक उपचार गरिएको थियो। थप उपचारका लागि काठमाडौं पठाउने तयारी भए पनि प्रतिकूल मौसमका कारण सम्भव नभएपछि तत्कालका लागि सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख अर्जुन कुमार बुढामगर ले जानकारी दिएका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ।

प्रतिक्रिया