३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

कांग्रेस पुनर्निर्माणको एजेन्डा: शून्यबाट सुरुवात, नेतृत्व फेरि गगनकै


1.9k
Shares

इ.रबिन्द्र अधिकारी । गगन थापा नेतृत्वको विषयलाई लिएर नेपाली कांग्रेसभित्र नयाँ बहस सुरु भएको छ। भर्खरै सम्पन्न निर्वाचनमा पराजय भोगेपछि कांग्रेसका सभापति थापाले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज उठ्न थालेको छ।

कांग्रेसले विशेष महाधिवेशनपछि “अबकी बार गगन सरकार” भन्ने नारासहित चुनावी मैदानमा होमिएको थियो। तर अपेक्षाअनुसार परिणाम आउन नसक्दा पार्टीभित्र नेतृत्वको जिम्मेवारीबारे गम्भीर समीक्षा हुनुपर्ने धारणा बलियो बन्दै गएको छ।

राजनीतिक वृत्तमा उठिरहेको मत अनुसार नैतिकताको आधारमा सभापति थापाले राजीनामा दिनु उपयुक्त भए पनि त्यसपछि हुने नयाँ प्रक्रियाबाट पुनः उनैले नेतृत्व सम्हाल्ने वातावरण तयार गर्नुपर्छ ।

कांग्रेसको समस्या केवल नेतृत्व परिवर्तनले मात्र समाधान हुने खालको देखिएको छैन। मुटु, कलेजो र फोक्सो उस्तै राखेर टाउको मात्रै फेरिँदा अपेक्षित परिणाम आउँदैन ।

त्यसैले कांग्रेसलाई जरा–पैतालादेखि पुनः निर्माण गर्नुपर्ने आजको टट्कारो आजश्वकता हो । भातृ तथा शुभेच्छुक संगठनदेखि जिल्ला, प्रदेश र केन्द्रीय संरचनासम्म व्यापक पुनर्गठन आवश्यक छ । क्रियाशील सदस्यतादेखि संगठनात्मक संरचनासम्म नयाँ ढंगले पुनः गठन गरेर “नयाँ कांग्रेस” निर्माण गर्नुपर्छ ।

कतिपय कार्यकर्ताले निर्वाचनका क्रममा आफ्नै पार्टीभित्रबाट पर्याप्त सहयोग नपाएको गुनासो पनि गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका अभिव्यक्तिहरूले समेत पार्टीभित्रको आन्तरिक असन्तुष्टि प्रस्ट पारेको उनीहरूको दाबी छ।

यस्तो अवस्थामा कांग्रेसलाई शून्यबाट पुनः निर्माण गर्दै जुझारु र जनमुखी संगठनका रूपमा अघि बढाउनुपर्ने र त्यसको नेतृत्व फेरि पनि थापाले नै गर्नुपर्ने धारणा केही कार्यकर्ताले राखेका छन् र मेरो पनि हो ।

यस बहसले नेपाली कांग्रेसभित्र संगठनात्मक सुधार, नेतृत्वको जिम्मेवारी र आगामी राजनीतिक दिशाबारे नयाँ छलफललाई तीव्र बनाएको देखिन्छ।

प्रतिक्रिया