२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

बालेनसँग पराजित भएका केपी शर्मा ओलीले भने–जनताको फैसला शिरोधार्य गर्छु


83
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग पराजय व्यहोरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जनतालाई धन्यवाद दिएका छन्।

ओलीले निर्वाचन परिणाम आफूले अपेक्षा गरेअनुसार नआएको स्वीकार गर्दै लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुने बताएका छन्। उनले जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताउँदै त्यसलाई शिरोधार्य गर्ने उल्लेख गरेका छन्।

“यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो,” उनले लेखेका छन्।

ओलीले सूर्य चिन्हमा मतदान गरी आफ्नो पक्षमा उभिने सम्पूर्ण मतदाता, नेता–कार्यकर्ता, स्वयंसेवक तथा समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्। उनले मतदाताको विश्वास नै आफ्नो शक्ति भएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

“निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन। तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन,” ओलीले लेखेका छन्।

उनले आफूहरू जनताकै बीचमा रहेर जनताकै लागि काम गरिरहने र विश्वासको सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्ने पनि बताएका छन्।

प्रतिक्रिया