२४ फाल्गुन २०८२, आइतबार | March 8, 2026

ओखलढुंगाको मतपरिणाम विवाद : ५ मतको अन्तर, १८६ मतको रहस्य


2.2k
Shares

ओखलढुंगामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणामलाई लिएर विवाद उत्पन्न भएको छ। नेपाली कांग्रेसका उम्मेदवार कुमार लुइँटेलले निर्वाचन आयोगले सार्वजनिक गरेको परिणामप्रति गम्भीर प्रश्न उठाएका छन्।

यस निर्वाचन क्षेत्रमा विश्वराज पोखरेल विजयी घोषित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा नेपाल प्रहरीका पूर्व एआईजी रहेका पोखरेललाई निर्वाचन अधिकृतको कार्यालयले विजयी घोषणा गर्दै प्रमाणपत्रसमेत प्रदान गरिसकेको छ।

तर, कांग्रेस उम्मेदवार लुइँटेलले मतगणनाको तथ्यांकमा गम्भीर अन्तर देखिएको दाबी गरेका छन्। उनका अनुसार मतदान सम्पन्न भएपछि मतेपेटिका संकलन गर्दा तयार पारिएको मुचुल्कामा ५९ हजार ७७ मत खसेको उल्लेख छ। तर मतगणना सकिँदा सदर र बदर मत जोड्दा ५८ हजार ८९१ मत मात्र भेटिएको छ। यसरी मुचुल्कामा उल्लेख भएको मतसंख्याभन्दा १८६ मत कम देखिएपछि परिणामप्रति आशंका पैदा भएको लुइँटेलको भनाइ छ।

झन् परिणाम केवल ५ मतको अन्तरले तय भएको अवस्थामा यस्तो मत अन्तरले निर्वाचन प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाउने उनीहरूको तर्क छ। लुइँटेलले मतगणना र अभिलेख मिलानबारे स्पष्ट छानबिन हुनुपर्ने माग गरेका छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार अत्यन्तै कम मतान्तरले तय भएका निर्वाचनमा मतसंख्याको सानो अन्तर पनि ठूलो विवादको कारण बन्न सक्छ। यदि मुचुल्का र अन्तिम मतगणनाबीच देखिएको फरकबारे स्पष्ट जवाफ नआएमा यसले निर्वाचन प्रक्रियाप्रति जनविश्वासमा असर पर्ने सम्भावना रहन्छ।

अब मुख्य प्रश्न निर्वाचन आयोग नेपाल ले यस विषयमा के स्पष्टीकरण दिन्छ भन्नेमा केन्द्रित भएको छ। आयोगले तथ्यपरक छानबिन गरी मतसंख्याको अन्तरबारे स्पष्ट पार्न सके मात्रै ओखलढुंगाको मतपरिणामबारे उठेका शंकाहरू समाधान हुने देखिन्छ।

प्रतिक्रिया