१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

एनभिए–डिबानबीच ऐतिहासिक सम्झौता: अब सबै डेभलपमेन्ट बैंकमा एउटै भ्यालुएशन मापदण्ड


February 27, 2026
15k
Shares

काठमाडौं, १५ फागुन । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) र डेभलपमेन्ट बैंकर्स एसोसियन नेपाल (डिबान) बीच सम्पत्ति मूल्यांकनसम्बन्धी सेवा तथा शुल्कलाई एकरूप बनाउने महत्वपूर्ण सम्झौता भएको छ ।

दुवै संस्थाबीच भएको फि तथा कन्सल्टेन्सी सर्भिस एग्रिमेन्ट अनुसार अब नेपालभरका डेभलपमेन्ट बैंकहरूमा प्रयोग हुने भ्यालुएशन रिपोर्ट एउटै ढाँचा र मापदण्डमा लागू गरिनेछ । यसले बैंकअनुसार फरक–फरक शर्त, प्रक्रिया र शुल्क हुने अवस्था अन्त्य गर्ने अपेक्षा गरिएको छ।

सम्झौतापत्रमा डिबानका अध्यक्ष सुयोग श्रेष्ठ र एनभिएका अध्यक्ष इन्जिनियर संजय महतोले हस्ताक्षर गरेका हुन्। एनभिएका सचिव इन्जिनियर रबिन्द्र अधिकारीका अनुसार सम्झौतामा प्रत्येक ४ वर्षमा सेवा शुल्क पुनरावलोकन गर्ने व्यवस्था पनि स्पष्ट रूपमा उल्लेख गरिएको छ।

सम्झौतापछि एनभिएले यसलाई सम्पत्ति मूल्यांकनकर्ता इन्जिनियरहरूको पेशागत हक–हित स्थापनातर्फको “महत्वपूर्ण तथा ऐतिहासिक उपलब्धि” भएको जनाएको छ । संस्थाले सहकार्य गर्ने डेभलपमेन्ट बैंक, कर्मचारी, मूल्यांकनकर्ता तथा सम्बन्धित समितिका सदस्यहरूलाई धन्यवाद समेत व्यक्त गरेको छ।

यो सहमतिसँगै बैंकपिच्छे फरक मापदण्ड लागू हुने, रिपोर्टको ढाँचा नमिल्ने तथा कार्यप्रक्रियामा देखिने अन्य व्यावहारिक समस्याहरू समाधान हुने विश्वास लिइएको छ। अब मूल्यांकन प्रतिवेदनमा एकरूपता आउने र बैंकिङ प्रणाली थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

एनभिएले मूल्यांकनकर्ताहरूका गुनासा र पेशागत समस्यालाई लिएर विगत केही महिनादेखि विभिन्न बैंकहरूसँग संवाद र खबरदारी गर्दै आएको थियो। सोही क्रममा सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक लगायतका संस्थाहरूलाई ध्यानाकर्षण गराइएको थियो।

एनभिए र डिबानले आगामी दिनमा पनि एकता, सहकार्य र समन्वयका साथ पेशागत मान्यता, पारदर्शिता र बैंकिङ प्रणालीको गुणस्तर सुधारतर्फ संयुक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

हेर्नुहोस् एनभिए–डिबानबीच भएको ऐतिहासिक सम्झौता

प्रतिक्रिया