केपी एन्ड कम्पनी : सत्ता उन्माद र देशको विनाश
प्रकाश रायमाझी । कथित नेताहरूले सधैं मौसमी राजनीतिको खेती गर्दै जनतालाई भ्रममा राखेर राज्यसत्तामा कब्जा गर्दै आएका छन् । केपी ओली जस्तो झूट र असत्य फैलाउने व्यक्तिले राजनीतिलाई पेसा बनाउँदा एमाले ’केपी एण्ड कम्पनी’ जस्तो पार्टीमा परिणत भएको छ। उनको संस्कार अर्काको खिसीट्युरी र निन्दा गर्ने मात्रै रहेको छ। कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगेका व्यक्तिले राजनीतिक आवरणमा पटक–पटक सत्ताको बागडोर हात पार्दा देश खरानी भयो। होनहार कलिला युवाहरू मारिए, दण्डहीनता र कानुनी राज्यको उपहास भयो, र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको बदनाम हुने अवस्था सिर्जना भयो।
भन्नलाई नियमन गर्ने भनिए पनि सामाजिक सञ्जाल बन्द गरिएको त्यसमार्फत ओलीको विरोध भयो, जनताले लुटतन्त्र मच्चाएका नेता र तिनका सन्तानको भण्डाफोर गर्न थाले भनेरै हो । त्यसको विरोधमा निशस्त्र उत्रिएका युवाहरू माथि बर्बर अत्याचार र दमन गरियो । ओली सत्ता टिकाउन हजारौं हजार मार्न पनि तयार देखिए । रगतको आहालमा अझै २०औं वर्ष शासनको सपना देखे । सत्ता उन्मादले मैमत्त भएका शेरबहादुर र ओलीले जे गरे पनि हुन्छ भन्ने विश्वास उनीहरूमा थियो । जनतालाई दास ठान्ने कार्यकर्तालाई सर्वत्र राज्य लुटमा लगाएर देशभित्र बस्नै नसक्ने अवस्थामा पु¥याए । विरोध गर्नेहरूलाई दण्डित र दमन गर्ने प्रवृत्ति बढ्दै गएको गयो ।
जेन्जी आन्दोलनमा भएको जनधनको क्षतिको जिम्मेवारी ओलीले लिनै पर्छ। कार्यकारी प्रधानमन्त्रीले ’मेरो हात छैन’ भन्न मिल्दैन । सरकारको विरोध विद्रोह थिएन, यो भ्रष्ट शासन प्रणालीको विरुद्धमा आजित जनताको आक्रोश थियो । महाकाली सन्धि, एमसीसी पास गर्ने, नागरिकता ऐन बनाउने, कोशी–चुरे क्षेत्र उत्खनन् गरेर ढुंगाको तस्करी गर्न गर्न बजेटमा राख्ने, यी सबै ओलीको निर्देशन अन्तर्गत भएका काम हुन् । यस आपराधिक काममा ओलीका बफादार सुकुम्बासीबाट अर्वोपति भएकाविष्णु पौडेल लगायतका व्यक्ति अझै पनि नैतिकताको पाठ पढाएर हिँडिरहेका छन् । ओलीले राष्ट्रवादको खोक्रो ढाँचा प्रयोग गरेर जनतालाई उल्लु बनाउँदै राज्य सत्ता कब्जा गरे। उनी न त राष्ट्रवादी हुन् न त देशभक्त; उनी त केवल राजनीतिक माफिया हुन्, जसले राजनीतिलाई पेसा बनाउँदै देश लुट्ने धन्दा चलाइरहेका छन् ।
४६ सालपछि परराष्ट्र नीति असफल भएको छ। असलग्न परराष्ट्र नीति दलीय स्वार्थले प्रयोग गर्दा देश संकटको भुमरीमा फसेको छ। अमेरिका, चीन, भारत, युरोपियन युनियन जस्ता अन्तर्राष्ट्रिय शक्ति देखाएर यिनैले ओली, देउवा र प्रचण्डका निजी कम्पनीले नेपाली जनतालाई लुटेका हुन् । हाम्रो संस्कार, संस्कृति, धर्म र परम्परालाई आत्मसात गरेमा मात्रै हामी स्वतन्त्र रहन सक्छौं । तर धर्मनिरपेक्ष बनाउने, जातीय विभाजन गर्ने, राष्ट्रिय एकतालाई कमजोर तुल्याउने यी पाखण्डी नेताहरूले देश र जनताको भविष्यलाई खतरामा पारेका छन् ।
नेपाली सेनाले कथित नेताहरूको ज्यान बचाउन हेलिकप्टरमार्फत उद्धार ग¥यो । आज त्यही सेनाको मर्यादामा चोट पु¥याउने प्रयास भइरहेको छ। टुँडिखेलमा हुने सैनिक दिवसमा विदेशी सैनिकसँग सांस्कृतिक आदानप्रदान गर्दै आएको कार्यक्रमलाई गलत अर्थ लगाइएको छ। चुनावमा अझै पनि ओलीले मौसमी गीत गाउँदै जनतालाई भ्रममा राख्ने प्रयास गर्दै छन्, भोटको लागि जनतालाई भ्रममा राख्दै छन् । देउवाको घरमा डढेको नोटलाई नोट होइन भन्ने राष्ट्रद्रोही दृष्टिकोणका साथ उनीहरूले भ्रष्टाचार र लुटमारलाई सामान्य बनाएका छन् ।
देशलाई दलहरुको लुटले कंगाल बनाएको छ । जनता दुई छाक खान गाह्रो अवस्थामा छन् । तर, भ्युटावर जस्ता अनुत्पादक परियोजनामार्फत ठेकेदारबाट कमिसन लिन, जग्गाको भाउ कृत्रिम रुपमा बढाएर जनतालाई झुक्याउन यिनीहरु उद्धत छन् । देशमा ३७ वर्षसम्म लगातार लुट मच्चाएका ओली एन्ड कम्पनीको अनुहार लिएर भोट माग्दा कसले पत्याउने? निर्वाचन भनेको राष्ट्रिय अखण्डतालाई कमजोर पार्दै गरिने राजनीतिक नाटक मात्र बनिसकेको छ।
अब आवश्यक छ कि नेपाली जनता आफूले सामना गरिरहेको उत्पीडन, बेरोजगारी, भ्रष्टाचार र विदेशी निर्भरतालाई बुझ्ने र आत्मसमीक्षा गर्ने । भ्रष्ट राजनीतिक माफियाहरूको अकूत सम्पत्तिलाई राष्ट्रियकरण गरेर र ७२ को संविधान खारेजपछि मात्र वास्तविक निर्वाचन सम्भव हुन्छ। सुशीला कार्की सरकारले गराउने निर्वाचन नेपाली जनताको लागि होइन, उनी अरु कसैका लागि जनतालाई झुक्याउँदै राष्ट्रको स्वाभिमानमा आँच पु¥याइरहेकी छन् ।
हामीले याद राख्नुपर्छः धर्म, संस्कृति, राष्ट्रियता र आत्मगौरव जोगाउने शासन चाहिन्छ, क्षणिक लाभ, दलाली र विदेशी प्रभावमा आधारित दासत्व होइन। अब सबै नेपालीले चेतना जागृत गर्नुपर्छ, आफ्नो अधिकार, स्वतन्त्रता र राष्ट्रहितका लागि खरो उभिनुपर्छ ।
रायमाझी राजनीतिक विश्लेषक हुन् ।


