खेम शर्माका एकसाथ तीन पुस्तक सार्वजनिक
काठमाडौं । खेम शर्माका तीनवटा पुस्तक एकसाथ विमोचन गरिएको छ। शुक्रबार रिपोर्टर्स क्लबमा शर्माका ‘नेपालवाद’, ‘नागरिक प्रश्न’ र ‘नागरिक जिम्मेवारी’ विमोचन गरिएको हो।
यी तीनवटै पुस्तक थुप्रै डटकममार्फत ई–बुकको रूपमा सार्वजनिक गरिएको हो। आगामी ६० देखि ७५ दिनभित्र देश तथा विश्वभरि छरिएर रहेका नेपालीहरूबाट थप सुझाव संकलन गरी दोस्रो चरणमा प्रिन्ट गरी सार्वजनिक गर्ने उनको भनाइ छ।
शर्माले पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै यी पुस्तकले राष्ट्र निर्माणका लागि महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे। शर्माका अनुसार पहिलो पुस्तक ‘नेपालवाद’ राष्ट्रिय नीति–विचार केन्द्र परिकल्पनामा दीर्घकालिन नीति–ज्ञान, अनुसन्धान, तथ्यमा आधारित बहसमा समावेश छ।
दोस्रो पुस्तक ‘नागरिक प्रश्न’मा सबै उम्मेदवार तथा नेतासँग नागरिकले २४ पिलरमा सोध्नुपर्ने प्रश्न तथा तेस्रो पुस्तक ‘नागरिक जिम्मेवारी’मा सफल राष्ट्र बनाउन आवश्यक २४ पिलरमा नागरिकका व्यावहारिक भूमिका समेटिएका छन्।
सो क्रममा उनले जेन–जी आन्दोलनको पनि चर्चा गरे। जेन–जी आन्दोलन कुनै समूहको निजी अभियान मात्र नभएर यो सबै नेपालीको साझा चाहना, साझा पीडा तथा साझा आशाबाट जन्मिएको उनको भनाइ थियो।


