१८ माघ २०८२, आइतबार | February 1, 2026

बाघ भैरव डोजोले जित्यो प्रथम वडा अध्यक्ष कप खुल्ला कराते प्रतियोगिताको उपाधि


February 1, 2026
0
Shares

काठमाडौँ । प्रथम वडा अध्यक्ष कप खुल्ला कराते प्रतियोगिता–२०८२ को उपाधि बाघ भैरव डोजोले जित्न सफल भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारालाई आत्मसात् गर्दै काठमाडौँ महानगरपालिका वडा नं। ७ कार्यालयको सहयोग तथा मित्रपार्क नाय खिं बाजं खलः सँगको समन्वयमा नेपाल गोजु–काई कराते–डो संघले प्रतियोगिताको आयोजना गरेको हो ।

प्रतियोगितामा कालो बोर्डिङ स्कुलले द्वितीय स्थान हासिल गर्दा पद्मा डोजोले तृतीय स्थान हासिल गर्न सफल भयो । व्यक्तिगततर्फ गर्ल्स समूहमा पद्मा डोजोकी दिव्यानी तामाङले ‘बेस्ट प्लेयर’को उपाधि जितिन् भने ब्वाइज समूहमा नव शान्तिका सुलभ चौधरी ‘बेस्ट प्लेयर’ घोषित भए ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले वडा नं। ७ कार्यालयले खेलकुद कार्यक्रममार्फत वडामा मुस्कान छर्न सफल भएको बताउनुभयो । उहाँले वडा कार्यालयहरू विकास निर्माणसँगै वडाको चौतर्फी विकासमा केन्द्रित हुँदै आएको उल्लेख गर्नुभयो । आगामी दिनमा नागरिकसँग अझ नजिक भएर सहकार्य गर्दै वडा कार्यालयहरू अघि बढ्ने उहाँको भनाइ थियो ।

वडा नं। ७ का वडा अध्यक्ष विमलकुमार होडाले स्थानीय तहबाटै खेलकुदको विकास गर्ने उद्देश्यले वडा स्तरीय खेलकुद प्रतिष्ठान स्थापना गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । नवयुवालाई खेलकुदतर्फ उत्प्रेरित गर्न तथा अनुशासित समाज निर्माण गर्न यस्ता प्रतियोगिताको आयोजना गरिएको उहाँले बताउनुभयो ।

नेपाल गोजु–काई कराते–डो संघका अध्यक्ष अशुराज श्रेष्ठले कराते प्रतियोगिता आयोजना गर्न वडा कार्यालयले गरेको सहयोगले खेलाडीहरूको मनोबल उच्च भएको बताउनुभयो । वडास्तरीय खेलकुद प्रतिष्ठान बनाउने लक्ष्यले आफूहरूलाई थप उत्साहित बनाएको उहाँको भनाइ थियो ।

भिन्न–भिन्न तौल समूहमा सञ्चालन गरिएको उक्त कराते प्रतियोगितामा कुल २ सय ७० जना खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया