बडिमालिका माविको एसइईको परीक्षा केन्द्र सारेपछि चर्को विरोध
रास्कोट नगरपालिका वडा नं। ५ मा अवस्थित बडिमालिका माध्यमिक विद्यालय रास्कोटको एसइईको परीक्षा केन्द्र सारिने भएपछि चर्को विरोध भएको छ । नगरकै गहना तथा नमुना विद्यालयका रूपमा परिचित सो स्कुल वि।सं। २०३२ सालमा स्थापना भएको हो । यो विद्यालयले शैक्षिक क्षेत्रमा लामो योगदान दिँदै आएको छ।
तर हाल आएर सो विद्यालयको एसइईको परीक्षा केन्द्र परिवर्तन गरी कालासिल्ला माध्यमिक विद्यालयमा सारिएकोविषयले विवाद उत्पन्न भएको छ। नगर प्रमुख खेम शाही, मेयर धर्मराज शाही पोषण तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्षलगायत सरोकारवालाले परीक्षा केन्द्र सार्ने प्रस्ताव अघि सारे पनि यस निर्णयप्रति स्थानीय नागरिक र विद्यार्थीहरू असन्तुष्ट देखिएका छन्।
परीक्षा केन्द्र सारिँदा विद्यार्थीहरूलाई असहज हुने, भौगोलिक दूरी बढ्ने र विद्यालयको गरिमा घट्ने भन्दै स्थानीय स्तरमा विरोध आन्दोलन सुरु भएकोछ। यस विषयलाई लिएर वडा नं। ५ का स्थायी बासिन्दा सुरेश शाहीले सामाजिक सञ्जालमार्फत कडा विरोध जनाएका छन्। उनले बडिमालिका मावि जस्तो ऐतिहासिक र नमुना विद्यालयको परीक्षा केन्द्र हटाउनु अन्यायपूर्ण निर्णय भएको उल्लेख गरेका छन्।
स्थानीयवासी तथा विद्यार्थीहरूले परीक्षा केन्द्र यथावत् बडिमालिका माविमै कायम गर्न माग गर्दै सम्बन्धित निकायलाई निर्णय पुनरावलोकन गर्न आग्रह गरेका छन्। उनीहरूले माग नसुन्ने हो भने आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत दिएका छन्।
अब यस विषयमा नगरपालिकाको आगामी निर्णयले कस्तो मोड लिन्छ भन्ने चासोको विषय बनेको छ।
सुरेशबहादुर शाही


