२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई गामबेसी थकालीमा भव्य स्वागत


January 9, 2026
16.5k
Shares

काठमाडौँ — भारतको सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई काठमाडौँको लैनचोरस्थित मल्ल होटलमा सञ्चालित गामबेसी थकाली रेस्टुरेन्टमा भव्य स्वागत गरिएको छ। थकाली किचेनका सञ्चालक सन्दिप तामाङ र सुजन लामाले मुख्यमन्त्री तामाङलाई पारम्परिक आतिथ्यतासहित सम्मानपूर्वक स्वागत गरेका हुन्।

सो अवसरमा नेपाल र सिक्किमबीच रहेको ऐतिहासिक, सांस्कृतिक तथा पारस्परिक सम्बन्धबारे आत्मीय भलाकुसारी भएको बताइएको छ। भाषा, संस्कार, संस्कृति र खानपानमा देखिने उस्तै–उस्तैपनले दुवै भू–भागलाई अझ नजिक बनाएको चर्चा गरिएको थियो। विशेषगरी थकाली समुदायको परम्परा, जीवनशैली र खानाको स्वादले नेपाल–सिक्किम सम्बन्धलाई थप मजबुत बनाएको सहभागीहरूको भनाइ थियो।

मुख्यमन्त्री तामाङले गामबेसी थकालीमा परोसिएका परम्परागत थकाली परिकारहरूको स्वादको प्रशंसा गर्दै नेपालमा रहेको मौलिक खानपान संस्कृतिले आफूलाई विशेष आनन्द दिएको बताए। स्वच्छ, सन्तुलित र स्वादिलो परिकारसँगै रेस्टुरेन्टको शान्त, रमणीय र आत्मीय वातावरणले स्मरणीय अनुभव दिएको उनको प्रतिक्रिया थियो।

थकाली किचेनका सञ्चालक सन्दिप तामाङ र सुजन लामाले नेपाली मौलिक खानालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यसहित गामबेसी थकाली सञ्चालन गर्दै आएको उल्लेख गर्दै, सिक्किमका मुख्यमन्त्रीजस्तो विशिष्ट अतिथिलाई स्वागत गर्न पाउनु गर्वको विषय भएको बताए। उनीहरूले आगामी दिनमा नेपाल–सिक्किमबीच सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनमा यस्ता भेटघाटले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कार्यक्रमले केवल औपचारिक भेटघाट मात्र नभई नेपाल र सिक्किमबीचको आत्मीय सम्बन्ध, साझा पहिचान र सांस्कृतिक नजिकपनलाई अझ प्रगाढ बनाएको सहभागीहरूको निष्कर्ष रहेको थियो।

प्रतिक्रिया