निर्वाचनको नाममा कम्पनीकरण गरिएको राजनीति !
प्रकाश रायमाझी । ०७२ को संविधान अन्तर्गत निर्वाचनमा जाने कुनै पनि राजनीतिक दलहरूले आफूलाई वैकल्पिक शक्ति भन्नु जनतालाई झुक्काउने अस्त्र मात्रै हो । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र र समावेशिता यो संविधानको प्रस्तावनामै उल्लेख छ । यही संविधान अन्तर्गत हुने निर्वाचन र निर्वाचित प्रतिनिधिले यही संविधानमा सपथ खाएपछि उनीहरू कसरी वैकल्पिक राजनीतिक शक्ति हुन्छन् ?
अहिले भएका राजनीतिक दलहरू सैद्धान्तिक रूपमा वैकल्पिक शक्ति होइनन् । निर्वाचनको माध्यमबाट राज्यसत्ता हत्याउने र भागबन्डामा देश लुट्ने कम्पनी चलाउनेहरू मात्रै हुन् । विगतमा पनि यही हुँदै आएको छ । जसले यो संविधान परिवर्तन गर्ने अठोट लिएर आउँछ, त्यो मात्रै वैकल्पिक शक्ति हुन सक्छ ।
अहिलेसम्म कुनै पनि राजनीतिक दलले यो संविधान पुनर्लेखनको मुद्दा उठाएका छैनन् । सबैले संशोधनको कुरा मात्रै गरेका छन् । संशोधनबाट संविधानका मूलभूत विषय परिवर्तन हुँदैनन् । दुईतिहाइ बहुमत कुनै पनि एक दलको पुग्दैन । दुईतिहाइ बहुमत पुगे पनि मिलेमतोमा आफ्ना स्वार्थ पूर्ति गर्ने धारा मात्रै परिवर्तन गरिन्छ ।
यो संविधान पुनर्लेखन नगरी कुनै पनि राजनीतिक दल वैकल्पिक शक्ति बन्न सक्दैन । साना–ठूला कम्पनी खोलेर निर्वाचन आयोग नामक कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्ने, देश लुट्ने धन्दा मात्रै हो निर्वाचन । अहिलेका कुनै पनि दलका स्पष्ट विचार, धारणा र अडान छैनन् । जनतालाई फेरि झुक्काउने उद्देश्यबाट यो धन्दा चलाइँदै छ ।
यो निर्वाचनबाट राजनीतिक स्थायित्व र देशको दीर्घकालीन आर्थिक समृद्धिको बाटो निर्धारण हुन सक्दैन । अस्थिरता कायम नै रहन्छ । अध्यावधिक निर्वाचनको नाममा भइरहने अस्थिरताले देश झन् जीर्ण हुँदै गएको छ । नेपाली जनताको मूल मर्म आत्मसात् गर्न नसक्ने संविधान र भागबन्डामा चलाइने लुटधन्दाबाट न त राजनीतिक स्थिरता आउँछ, न मुलुक समृद्ध बन्छ ।
देशलाई समृद्ध बनाउने हो भने यो प्रणाली र यी पात्रहरू सबै परिवर्तन हुनु जरुरी छ । जनजी क्रान्तिको मूल मुद्दा नै अपहरण भयो । फेरि उही लुटिखाने धन्दा सुरु भयो । शेरबहादुर, प्रचण्ड, ओली एण्ड कम्पनी जस्ताका तस्तै छन् । रवि, कुलमान आदि इत्यादि नयाँ कम्पनी थपिने मात्र हुन् । यो निर्वाचनबाट नेपालीको उज्ज्वल भविष्य सम्भव छैन ।
एक पक्ष अर्कोपक्ष दिल्ली दौडिएर आशिर्वाद लिने कथितहरूले चलाएको देश कहिल्यै बलियो हुँदैन । विदेशी गुलामी गर्ने परम्पराबाट देश कहिले मुक्त हुने ? हाम्रो राष्ट्रियता र गौरवशाली इतिहास मेट्ने कुलङ्गार आन्तरिक फिरङ्गीहरूबाट कहिले मुक्ति मिल्ने ? सबैलाई चेतना भया ।
(लेखक रायमाझी राजनीतिक विश्लेषक हुन् ।)


